कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट नहुने

examination_board_
लाेकपाटी न्यूज

काठमाडौं, २४ कात्तिक। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आए पनि त्यसमा सत्यता नरहेको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए।

परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै बोर्डले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जनाएको हो।

कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन।होम सेन्टरमा नै सञ्चालन हुने चार हजार एक सय पाँच परीक्षा केन्द्र रहेका छन्। प्रश्नपत्र छपाई लगायतका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ। सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ। कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ। कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्