कर्णाली प्रदेशमा ओली समूहको छुट्टै भेला

KP-Sharma-Oli
लोकपाटी न्यूज

सुर्खेत। मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला नाममा प्रशिक्षण दिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, एकेडेमीका उपाध्यक्ष ध्रुव आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो। सुर्खेतको घण्टाघरमा भएको प्रशिक्षण कार्यक्रममा खेलाडीलगायत नेकपा नेता तथा कार्यकर्तासहित करिब दुई सय सहभागी थिए।

प्रचण्ड-नेपाल समूहले पार्टी फुटाउने उद्देश्यले प्रशिक्षण दिइएको आरोप लगाएको छ। एकेडेमीका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम बस्नेतले भने कर्णालीमा खेल क्षेत्रलाई कसरी अगाडि बढाउने विषयमा स्वागत तथा प्रदेश भेला आयोजना गरिएको बताए। ‘यो कार्यक्रम पार्टी विवादबारे गुटको भेला होइन,’ उनले भने, ‘आगामी दिनमा खेल क्षेत्रलाई कर्णालीमा कसरी अगाडि बढाउने भन्ने विषयमा प्रशिक्षण भएको हो।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव उपस्थित भएको कार्यक्रममा नेकपाका सबै विचार राख्ने खेलाडी उपस्थित भएको बस्नेतको दाबी छ। ‘यो खेल क्षेत्रलाई कसरी जनताको बहुदलीय जनवादसँग जोड्न सकिन्छ,’ उनले भने, ‘त्यसमा सामान्य छलफल भएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्