केपी ओलीका ८ नेताको प्रचण्ड-नेपाललाई साथ !

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा पेस भएपछि नेकपा कर्णालीमा उत्पन्न विवादमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका यमलाल कडेँलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा पेस भएको थियो।

ओली निकट मानिएका ११ जनामध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई सर्मथन गर्ने निर्णय गरेका छन्। उनीहरुको यो निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन पनि पर धकेलिएको छ। यसले कर्णालीमा सिर्जना भएको विवादमा नयाँ मोड ल्याएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका १३, माधव नेपाल पक्षका ९ र ओली पक्षका ११ जना सांसद कर्णालीमा छन्। ८ जनाले मुख्यमन्त्रीलाई सर्मथन गरेपछि कडेँलसँग ३ जना मात्र सांसद भएका छन्।

सामाजिक विकासमन्त्री दल रावलले बिहान सामाजिक सञ्जालमा आफूले राम्रो काम गरेपनि मन्त्रीबाट बाहिरिन लागेको आशय सामाजिक सञ्जालमा व्यक्त गरेका थिए। तर अहिले उक्त भनाई मेटाउँदै मुख्यमन्त्रीको सर्मथनमा उत्रेका छन्। कडेँलको पक्षमा लाग्दा धोका भएको र अब स्थिर सरकारको पक्षमा रहेको भन्दै उनीहरू मुख्यमन्त्री शाहीको पक्षमा आएका हुन्। उनीहरुको यो कदमपछि ओली पक्ष कर्णालीमा कमजोर भएको छ।

मुख्यमन्त्रीलाई हटाएर आन्तरिक पार्टीको समीकरण भत्काउने कडेँल पक्षको प्रयास असफल भएको छ। केही समय अघि उनीहरु काठमाडौँ आएर छलफल गरेका थिए। मन्त्री रावलले आफूहरू स्थिरताको पक्षमा भएको र मन्त्रीमण्डल परिर्वतनको अधिकार मुख्यमन्त्रीको भएकाले उनको सर्मथनमा भएको बताए। ‘अहिले सबै पक्षबाट छलफल भइरहेको छ,’ मन्त्री रावलले भने, ‘हामी आपसी सहमति र संवादबाट निकाश निकाल्छौँ। मुख्यमन्त्रीको अधिकार प्रयोग गर्न पाउनुहुन्छ। हामी मान्न तयार छौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्