केपी ओलीले पार्टी अध्यक्षबाट स्वेच्छाले राजीनामा दिनु राम्रो हुन्छ : हरिबोल गजुरेल

Haribol gajurel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले पार्टीमा उत्पन्न विवादको मुख्य जिम्मेवार पक्ष अध्यक्षद्वयको पार्टी चलाउने तरिका रहेको बताएका छन्। एक सञ्चार माध्यमसँगको कुराकानीका क्रममा नेता गजुरेलले पार्टी एकतापछि अध्यक्षद्वय नयाँ ढंगबाट चल्न नसक्दा पार्टीमा विवाद उत्पन्न भएको बताएका हुन्।

उनले भनेका छन्, ‘अहिले विवादको मूल पक्ष पार्टी चलाउने तरिका नपुगेको हो। पूर्वमाओवादी चलाए जसरी प्रचण्डले चलाउन खोज्ने, पूर्वएमाले चलाए जसरी ओलीले चलाउन खोज्दा समस्या आएको हो। यो नयाँ पार्टी थियो, त्यसरी चल्ने स्थिति थिएन भन्ने कुरा उहाँहरूले बुझेको देखिएन।’

पार्टीमा देखिएको विवाद समाधानका लागि नेता गजुरेलले पार्टी अध्यक्षको राजीनामाको आवश्यकता औँल्याएका छन्। उनले दुई वटा पाइलट (अध्यक्ष) भएर पार्टी नचल्ने बताए। ‘दुई वटा पाइलट (अध्यक्ष) भएर पार्टी नचल्ने देखेपछि मैँले ओली कमरेडसँग छलफल गरेको थिएँ। उहाँले अध्यक्षबाट स्वइच्छाले राजीनामा दिएर निकास दिनेजस्तो कुरा गर्नुभएको थियो,’ उनले भनेका छन्, ‘अर्कोतर्फ प्रचण्डलाई पनि मैँले पटक-पटक लेनिनले राजीनामा दिएको इतिहास सुनाएको थिएँ। पार्टी विवाद चर्किँदै गर्दा अन्तिममा पार्टीलाई बचाउन तपाईँले राजीनामा दिनुस् भनेर पनि भनेको थिएँ। जसबारे उहाँले अन्तिम समय म त्यो उपाय प्रयोग गर्छु भनेर पनि भन्नु भएको थियो।’

पार्टी अध्यक्षहरूले पदबाट राजीनामा दिएको भए नेकपालाई नयाँ पद्धतिमा लैजान सघाऊँ पुग्ने नेता गजुरेलको बुझाइ छ। ‘जतिखेर केपी कमरेडले बैठक एकतर्फी स्थगित गर्नुभयो त्यतिखेर त प्रचण्डले राजीनामा दिनुपथ्र्यौं। त्यो उहाँले गर्नुभएन। सायद त्यसो गरेको भए ओली कमरेडलाई नैतिकताको प्रश्न उठ्थ्यो। त्यसले पार्टीलाई पद्धतिमा लैजान सहयोग पुग्थ्यो। तर, त्यो भएन,’ उनले भने।

नेता गजुरेलले एकता पछि बनेको नयाँ पार्टीलाई पुरानै तरिकाले सञ्चालन गर्न खोज्दा विवाद देखा परेको टिप्पणी गरे। आजको नेकपालाई पुरानो तरिकाले चलाउन सम्भव नरहेको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्