केपी ओली अस्थिरता निम्त्याउँदै छन् : प्रकाशमान सिंह

prakashman sinha
  • 87
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन्। पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिस्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रटाचार बाहेक केही पनि दिन नसकेको सिंहले बताए।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो। अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन।’

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी, न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए। प्रधानमन्त्रीले ‘आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ’ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा संरक्षण गर्ने काम गरेको पनि उनले आरोप लगाए। उनले प्रश्न गरे, ‘हामीले स्थीर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थिरता यही हो ?’

त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको सिंहको आरोप छ। कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको पनि उनले आरोप लगाए। उनले थपे, ‘त्यतिमात्र होइन कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ। यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन्।’

सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको सिंहले बताए। नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञ खोजेको उल्लेख गर्दै अहिलेका नेताहरु पनि सच्चिनुपर्ने सिंहले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्