केपी ओली कम्युनिस्ट चिन्तनबाट च्युत भइसकेः प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट, वाम प्रगतिशील चिन्तनबाट आधारभूतरूपमै च्युत भइसकेको र सारमा कम्युनिस्ट नरहेको निष्कर्ष नेकपाका शीर्ष नेताहरुले निकालेका छन्। सचिवालयमा पेश गरिएको एकल राजनीतिक दस्तावेजमा प्रचण्डले केपी ओलीले कहिल्यै समाजवाद, जनवादको पृष्ठपोषण नगरेको र व्यवहारतः नवउदारवादको वकालत गरेकाले उनलाई कम्युनिस्ट भन्न नहुने दलील प्रस्तुत गरेका हुन्।

समाजवादको रणनीतिक लक्ष्य, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धा, कानूनी शासन, मानवअधिकारको मूलभूत मान्यता, आवधिक निर्वाचन संविधानको सर्वोच्चता, नियन्त्रण र सन्तुलनको विधि, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता, दलाल नोकरशाही पुँजीवादमाथि नियन्त्रण र नियमन गर्ने पार्टी एकताले तयार पारेका राजनीतिक आधर हुन्।

त्यस्तै वर्तमान विश्व परिस्थिति अनुसार राष्ट्रिय पुँजीको विकास गर्ने तथा सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिई सामाजवादको आधार तयार पार्ने पार्टी एकताले स्वीकार गरेको राजनीतिक कार्यदिशा हो। तर, योभन्दा ठीक उल्टो गतिमा हिँडिरहेको प्रचण्डको निर्क्यौल छ।

‘उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ,’ प्रचण्ड दस्तावेजमा किटानका साथ भन्छन्, ‘व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव-उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीको स्वरूपमा ढाल्न खोजेको बताउँदै पार्टी स्थायी कमिटीको पाँचौं बैठकको निष्कर्षको मर्म मै प्रहार गरेको आरोप लगाएका छन्। भन्छन्, ‘उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्