कोरोनाबाट थप पाँच संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। सुनसरी, चितवन, बुटवल र काठमाडौंमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् । इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिकाको बुधबार बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो। मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएको हो।

यस्तै धरान उपमहानगरपालिका-१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो।

उनलाई उपचारका लागि कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएकोमा आज बिहान ३ः१५ बजेतिर मृत्यु भएको डा. श्रेष्ठले बताए। चितवनमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित ती महिलाको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको हो। ती महिलामा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। वुटवलमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ। गुल्मीको गुल्मीदरबार गाउँपालिका-६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको पनि कोरोना संक्रमणले निधन भएको छ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित महराको नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्