कोरोनाबाट थप ४ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

विराटनगर, २४ कात्तिक। कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगरमा आज बिहान थप दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोनाबाट उदयपुरकी ६५ वर्षीया महिला र झापाका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै, झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको छ। उनलाई कोरोना संक्रमण देखिएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

यता, रुपन्देहीमा सोमबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो।

भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महिलाको बिहान ६ : २० मा मृत्यु भएको हो। कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १९ गते उनलाई भिम अस्पतालमा भर्ना गरिएको थियो।

मृतक महिलामा मधुमेहको समेत समस्या रहेको अस्पतालका सुचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए। त्यस्तै बुटवल-१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८१ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्