कोरोनामुक्त भएपछि नायिका शर्माले भनिन्ः ‛मास्कलाई नै कोरोनाको भ्याक्सिन जसरी लिनुहोस्’

Recha sharma
लाेकपाटी न्यूज

काठमाडौं। अभिनेत्री ऋचा शर्माले केहीदिन अगाडि मात्र कोरोना संक्रमण मुक्त भइन्। आफनो युट्व च्यानलमार्फत् उनले केही दिन अगाडि मात्र आफू कोरोना भाइरस संक्रमण मुक्त भएको जानकारी दिएकी थिइन्।

कोरोना भाइरस संक्रमण भएपछिको अनुभव नायिका शर्माले सेयर गरेकी छन्। उनले आफ्नो युट्युब च्यानलबाट भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमण हुँदाको आफ्नो अनुभूति र संक्रमण मुक्त हुनलाई आफूले के–के गरेको बारेमा जानकारी दिएकी छन्।

भिडियोमा उनले भनेकी छन्, ‘मैले डब्लुएचओले निर्धारण गरेको ‘गाइडलाइन’ सबै मानेको थिएँ। धेरै बाहिर पनि निस्केको थिइन तर मलाई कसरी कोरोना भाइरस संक्रमण भयो थाहा पाउन सकेको छैन। शायद केही सानो चिजमा त्यसको भाइरस थियो र मैले आँखा, मुख, नाकसम्म लगेँ होला।’

मास्क लगाउँदा लगाउँदै, स्यानिटाइजर लगाउँदा लगाउँदै अनि हात धुँदा धुँदै पनि कसरी संक्रमण भयो भनेर अचम्म लागेको उनले बताएकी छन्। कोरोना संक्रमण हुने बित्तिकै सुरुमा मानसिक रुपमा प्रभाव पार्ने गरेको उनले बताएकी छन्।

‘यो भाइरस विश्वमा नै नयाँ भाइरस हो, यसको औषधि छैन भन्ने जस्ता कुराले असर पार्ने रहेछ। मलाई जब संक्रमण भयो मेरो ध्यान अब म पहिला जस्तो कसरी हुने भन्नेमा केन्द्रित भयो।’

शर्माले संक्रमण भइसकेपछि गरेका काम बुदाँगत रुपमा उल्लेख गरेकी छन्। आइशोलेशनमा बसेँ, दिनको दुईपल्ट बाफ लिएँ, हट वाटर ब्याग छातिमुनि राखिराखेँ नुन पानीले दिनमा दुईपल्ट कुल्ला गरेँ, यसले घाँटी ख्यास ख्यास भएको सञ्चो भयो। टेकु अस्पतालका चिकित्सक अनुप बास्तोला र डा. समिरमणि दिक्षितसँग सल्लाह गरेर कोडोपार औषधि खाएँ। यो रुघाको औषधि हो। जिङ्क पनि खाएँ। दिनहुँ घरको खाना खाएँ। ऋचालाई कोरोनाको लक्षणहरु यस्तो देखिएका थिए, बेस्सरी तीन दिन टाउको दुख्यो, औषधि खाँदा पनि कम नहुने,
जीउ दुख्ने, ज्वरो १०१.६, १०१.२ पुग्यो, नाक बन्द भयो, बास्ना थाहा पाइन। १९ औँ दिनमा मात्र बास्ना थाहा पाएँ।

‘मलाई खाना मन लागेको थिएन, तर तङरीनलाई भएपनि मैले खाना बल गरेर खाएँ। यो समयमा मानसिक रुपमा सारै प्रभाव पर्ने भएकोले हामीले दिमागलाई धेरै कोरोनामा नै केन्द्रित बनाउनु हुँदैन।’ उनका अनुसार यो समयमा मन भुलाउन अरु क्रियाकलाप गर्नुपर्छ। ‘मैले धेरै कमेडी चलचित्रहरु हेरेँ, सासको एक्सरसाइज गरेँ। १५ मिनेट दैनिक गरेँ। यसले फोक्सोलाई सहयोग गर्छ।’

उनले आफू अहिले स्वस्थ भएको र शुभचिन्तकलाई धन्यवाद भनेकी छन्। उनले कोरोनालाई सामान्य पनि नलिनुहोस् र मास्कलाई नै कोरोनाको भ्याक्सिन जस्तो लिनुहोस् भनेर सल्लाह दिएकी छन्। ऋचाले परिवारमा कोभिड–१९ को पेसेन्ट छ भने उनीहरुसँग दूरी कायम गर्न अनुरोध गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्