कोरोना जाँच्ने नयाँ प्रविधि, नमुना नचाहिने

corona_test
लोकपाटी न्यूज

काठमाडौं। वेल्समा विकास गरिएको स्वास्थ्य परीक्षण प्रविधिले मानिसको सासबाटै उसमा कोरोना भाइरस छ/छैन पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताले बताएका छन्। यो नयाँ उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो।

सुरुमा उसले फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको थियो। तर यहीबीच कोरोना महामारी सुरु भएपछि प्रविधिलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ।

उक्त उपकरणमार्फत स्कटल्यान्ड र जर्मनीमा मानिसको सास परीक्षण गर्दा तुरुन्त नतिजा आएको ‘लान्सिट’ जर्नलमा प्रकाशित लेखमा उल्लेख छ। प्रविधि विकासकर्ता कम्पनी इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा ६ महिनाभित्र आम प्रयोगका लागि उपकरण तयार हुन सक्ने जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद छ देखिएको बताएका छन्। यो प्रविधिबाट कोरोना परीक्षण गर्न तत्काल नमुना (सास) लिन सकिने, कुनै जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा थाहा पाउन सकिने उनको भनाइ छ। खासगरी यो हवाई तथा स्थल यातायात क्षेत्रमा बढी उपयोग हुने उनले बताए। -बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्