‘खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ, हेरौं’

sajha_party
लोकपाटी न्यूज

काठमाडौं। साझा पार्टीले खुलामञ्चमा असहायहरूलाई खाना वितरणमा काठमाडौं महानगरपालिकाले रोक लगाएकोमा आपत्ति जनाएको छ। केही परोपकारी समूहहरूले महिनौंदेखि काठमाडौँ खुलामञ्चमा असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ।

पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’

महानगरपालिकाको कदमको विरोध जनाउन बुधवार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने प्रवक्ता पाठकले जानकारी दिए। ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’ विज्ञप्तिमा भनिएको छ।

साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौं नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मलहम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गरेको छ। पार्टीले कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को वा ‘माम’को व्यवस्था गर्न माग गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्