‘गणित ऐच्छिक बनाए शिक्षामा प्रतिक्रान्ति हुनेछ’

Ushakiran Aajad
उषाकिरण आजाद

उषाकिरण आजाद/देशमा कक्षा ११ र १२ मा गणितको अनिवार्यतामाथिको पक्ष र विपक्षमा वहस पैरवी भइरहँदा यसको बारेमा लेख्नुभन्दा पहिला सोह्रौं शताब्दीका महान् वैज्ञानिक ग्यालिलियो ग्यालिलीले दर्शनशास्त्र र गणितका सम्बन्धमा भनेको एउटा प्रसिद्ध भनाइ लिन उपयुक्त होला। उनले भनेका छन्, “दर्शनशास्त्र (प्रकृति) त्यो महान किताबमा लेखिएको छ कि जो सदा हाम्रो आँखाअगाडि छ ( मैले भन्न खोजेको यो ब्रह्माण्ड हो। परन्तु यदि हामीले सुरुमा यस किताबमा लेखिएको भाषा बुझ्न र संकेतहरुलाई बोध गर्न सकेनौं भने यस किताबलाई बुझ्न सक्दैनौं। त्यो किताब गणितीय भाषामा लेखिएको छ र ती संकेतहरू भनेका (त्रि–भुज (Triangle), वृत्त (Circle), र अन्य ज्यामितीय आँकडाहरु/आकृतिहरु हुन्, जसको सहयोगविना दर्शनशास्त्र (प्रकृति) को एकमात्र शब्द पनि बोध गर्न असम्भव छ। जसबिना व्यर्थै अन्धकारमय चक्रव्युहभित्र सिधा एक्लै छामछाम(छुमछुम गर्दै भड्किनु हो।’’

उपर्युक्त भनाइको तात्पर्य तपाईंहरुले बुझिसक्नु भयो होला कि गणित केको भाषा हो भन्ने कुरा। तपाईहरुलाई यसका समन्धमा कुनै प्रष्टिकरण दिइराख्न जरुरी छैन। तर विद्धानहरु भएको पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा त्यही गणितलाई ऐच्छिक बनाइदिएको छ। त्यो पनि भौतिकशास्त्र, रसायनशास्त्र, अरू गणित पढ्नैपर्ने विषयका सन्दर्भहरुमा र स्वयं गणितको हकमा पनि अनिवार्य छैन।

विश्वविद्यालय क्याम्पस मातहत रहेको प्रविणता प्रमाणपत्र तह (Proficiency Certificate Level PCL) खारेज गरेर HSEB अन्तर्गत ल्याएको पुगनपुग एक दशकपछि सरकारले त्यसैलाई राष्ट्रिय परीक्षा परिषद (National Exemination Board NEB) मा रुपान्तरण ग¥यो। करिव तीन वर्षपछि हालै नेपालसरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ। आजको विश्व परिवेशमा यो विज्ञान प्रविधि र सूचना प्रविधिको युगमा दिनदिनै नयाँनयाँ खोज र अध्ययन अनुसन्धान भइरहेका छन्। विज्ञानका खोजहरुले र आविस्कारहरुले नौला नतिजाहरु ल्याएका छन्। ती आविस्कारहरुबाट प्राप्त नतिजाहरुलाई पाठ्यपुस्तकहरुमा समावेश गर्नका लागि वेलावेलामा पाठ्यक्रममा परिमार्जन हुनु आवशयक हुन्छ र यो आजको युगमा अपरिहार्य पनि छ।

तर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि बनेको झण्डै दुईतिहाइको सरकार भएको वेला गर्न लागिएको पनि छ। सार्वजनिक गरिएको पाठ्यक्रमअनुसार अब पहिलेका जस्ता संकायहरु (Faculties) रहने छैनन्। पहिलेका संकाय (Facuilty) हरुलाई खारेज गरिएको छ। संकाय भन्नाले कुनै निश्चित विषयमा विज्ञता हासिल गर्न वा भनौं त्यसको ज्ञान हासिल गर्न/गराउनका लागि बनाएको विशिष्ट विभाग वा शाखा हो।

संकायहरु खारेज गरेर बनाइएको नयाँ संरचनामा मुख्य तीनवटा अनिवार्य विषय हुनेछन् भनिएको छ। जसमा अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक अध्ययन रहेका छन्। जसमा तीनवटा नै ऐच्छिक विषय हुनेछन्। ती विषयलाई विद्यार्थीहरुले नै आफ्नो रुचि/इच्छाअनुसार छनौट गर्नुपर्ने हुन्छ। हुन त यी विषयहरु पहिलेको पाठ्यक्रममा पनि अनिवार्य नै थिए। फरक यत्ति हो कि त्यहाँ सामाजिक अध्ययन भन्ने विषय थिएन र नेपाली विषय ११ वा १२ मध्ये एउटा कक्षामा मात्रै पढाइ हुन्थ्यो। प्रविणता प्रमाणपत्र तहमा नेपाल परिचय भन्ने विषय पनि थियो, जुन द्वितीय वर्षमा ५० पूर्णाङ्क पढ्नुपथ्र्यो। प्रविणता प्रमाणपत्र तहको खारेजीसँगै त्यो विषय पनि स्वतः हट्यो। बाँकी ऐच्छिक विषयका रूपमा रहेका विषयमा केही विषय थप भएपनि पहिले पढाइ भइरहेका विषयहरूको सन्दर्भमा त्यस्तो खासै हेरफेर गरिएको देखिँदैन। तर त्यसका विषयसूचिहरुको सन्दर्भमा भने केही कुर्नुपर्ने हुन्छ।

सर्वप्रथम त सरकारले ११ र १२ लाई विद्यालय तह नै बनाउँदा विद्यालय तहका लागि ल्याइएको शिक्षा नीति र पाठ्यक्रमले सो तहका लागि पुरानोभन्दा कुनै भिन्न गर्ने अपेक्षा त गर्न सकिँदैन। तर देशको शिक्षालाई पहिलेको भन्दा कमजोर र धरासायी भने अवश्य नै बनाउने देखिएको छ। किनकि अहिले सार्वजनिक गरिएको पाठ्यक्रममा संकायहरुको खारेज गरेर भद्रगोल बनाइएको छ। जस्तो उदाहरणका लागि भौतिकशास्त्र पढ्नेले अरु जुनसुकै विषय पनि छान्न सक्नेछन्। गणितमा पनि उस्तै छ, रसायनशास्त्रको पनि एकै हालत छ। यी विषय पढ्न चाहनेले गणितको सट्टामा अरु जुनसुकै विषय पनि छान्न सक्नेछन्। यो विद्यार्थीहरुका लागि एकदमै दुर्भाग्यको कुरा हो किनभने भौतिकशास्त्र रसायनशास्त्र पढ्ने विद्यार्थीका लागि गणित अनिवार्य हुन अपरिहार्य छ।

यो पाठ्यक्रमको चौतर्फी विरोध भइरहेको छ। नेपाल गणित समाज, गणित विभाग त्रिभुवन विश्वविद्यालय र नेपालका शिक्षाविदहरुले विरोध गरिरहेका छन्। तर केही ब्यक्तिहरुले आफूले चाहेको विषय पढ्न पाउनुपर्छ, यो विरोध गलत हो भनेर पाठ्यक्रम विकास केन्द्रको निर्णयको समर्थन पनि गरेका छन्। केहीले लेखहरु लेखेर आफ्ना लेखहरुमा उक्त निर्णयको पुष्टि गर्ने फगत कोशिस पनि गरिरहेका छन्। ती लेखहरु यसरी लेखिएका छन् कि मिठा–मिठा उदाहरणहरु प्रस्तुत गरिएका छन्।

यसो सुन्दा हामीलाई यो गुलियो पनि लाग्न सक्ला। हुन पनि त हो आफूले इच्छा अनुसारै पढ्न पाउनुपर्छ। रुचिबिना जबर्जस्ती गरेर हुन्छ त ? के म गणित पढ्दिनँ भन्नु अपराध हो त ? भौतिकशास्त्रसँग क्यामेस्ट्री पढ्दैन गणित पढ्दैन भन्नु अपराध हो त ? जीवशास्त्रसँग क्यामेस्ट्री पढ्दिनँ भन्नै नपाइने त ? यस्ता प्रश्न हामीले सुन्यौ भने सत्य पनि लाग्नेछ। अनि हामीले भन्नेछौं कि पाठ्यक्रम विकास केन्द्रले सही निर्णय गर्‍यो यो ठिक छ। हामीले उफ्रिएर भनिरहेका छौं कि गणित समाजहरुले गरेको आन्दोलन गलत छ।

ज–जसले कक्षा ११ र १२ मा गणित अनिवार्य हुनु हुँदैन भनेर लेखिरहेका छन्, तिनीहरु गणित पढेकै भए पनि नबुझेकाहरु हुन्। विचरा अशिक्षितहरु हुन्, पढ्न त तिनीहरुले पढेका हुन सक्छन्। त्यस्ता मानिसहरुले स्नातकोत्तर हासिल नै गरेका हुन सक्छन्, परन्तु तिनीहरुलाई हामीले अशिक्षित नै भन्नुपर्ने हुन्छ। तिनीहरुलाई ज्ञान भएका तर शिक्षित हुन नसकेका भनेर भन्न सकिन्छ। तिनीहरुमाथि हामीले दया देखाउने कामबाहेक अरु केही गर्न सकिँदैन। तिनीहरुको हर्कत भनेको एक किसिमको बच्चापन हो, त्यो बालापन हो। अझ समृद्ध भाषामा भन्ने हो भने बालहठ हो। विद्यार्थी फेल भए भनेर गणित नै हटाइदिने कहाँको नियम हो यो ? अब नेपालीमा पनि फेल भए भनेर स्कुल नै हटाइदिने त ? यो बकम्फुसे कुराबाहेक केही हुनै सक्दैन। यसरी हटाउनुपर्छ भन्नेमा मुख्य तीनवटा कारण हुन सक्छन्, पहिलो तिनीहरुमा गणित फोबिया भएको हुनुपर्छ। भन्नाले गणित सुन्यो कि डराउने। उनीहरु गणितमा प्रथम भएको भए पनि गणितसँगको डर भने सधैं लागिरहने हुन सक्छ। दोस्रो गणितको विषयमा थाहा नभएर हुन सक्छ। आजसम्म हाम्रो शिक्षा प्रणालीले गणितका सुत्रहरु घोक्न सिकायो। हाम्रो शिक्षा पद्धतिले हामी र हाम्रा विद्यार्थीहरुलाई तिमीले घोकेर परीक्षा पास गर्नुपर्छ भन्ने सिकायो। तर त्यसको प्रयोग कता हुन्छ भन्ने कुरा सिकाएन। यसले जीवनलाई सहज बनाउनेतिर गएन, बरु यसले त झन जटिल पो बनायो। गणितमा स्तातक स्नातकोत्तर गर्‍यो। तर भेडा चराउन कोरिया जानुपर्ने भयो, जानुपर्ने खाडी भयो, युरोप अमेरिकातिर गएका केही एकाधले बाहेक अरुले आफ्नो विषय अनुसारको काम गर्न पाउने कुरै भएन। गणित आगाडि बढ्यो। तर हामीले त्यसलाई आत्मसात गरेनौं। जीवनसँग जोड्न सकेनौं। त्यसैले त्यो विषयप्रति नै वितृष्णा जग्यो। यसबाट के थाहा पाउन सकिन्छ भने अति राम्रो चीजको पनि मानिसहरुले विरोध गर्दा रहेछन्। किन मानिसहरुले बुझेकै छैनन् नबुझेपछि हुने त्यस्तै हो। त्यसैले हाम्रो देशको शिक्षा प्रणाली आजको समयको तुलनामा धेरै पछ्यौटेखालको भएकोले गणितको महत्व नबुझेर यसको विरोध भएको हुनुपर्छ। यसको समाधान गर्न हामी गाउँ फर्किनुपर्छ। गाउँकाले पढेका मान्छेको परीक्षा लिन्थे। हामी गाउँ जाँदा हामीलाई दुधको बटुप्को दिँदै सोधिहाल्थे “दूध र बुझमा क्या मीठो होला त नाना” (दूध र बुझाइमध्ये कुन सारै मीठो हुला बाबु (Which Testy either milk or understanding baby…) हामी धेरैले त्यसको जवाफमा दूध भन्थ्यौं, उनीहरु हामीलाई फेल भन्थे। उत्तर दिन्थे बुझाई मीठो हुन्छ भनेर। हुन त दूध मीठो हुन्छ खाँदा, तर बुझाई बुझ्ने कुरा जति दूध के मीठो हुन्थ्यो र बुझाइले दूध नै निर्माण गरिदिएको छ यस धर्तीमा। भनाइको अर्थ आज यो संसार र संसारका नियमहरुको बोध गरेर मान्छेले संसारलाई कहाँ पुगायो भन्ने देखेकै छौँ। यो दुधको मीठो हुनाले होइन मान्छेको बुझाइले हो। मान्छेको संसारको गतिका नियमहरु बोध गर्ने कलाका कारण सम्भव भएको हो। तर हामीले पढेकै लेखेकै मानिसले बुझेनौ जुन सारै समस्या हो। यो सामाजिक सरमको विषय हो। यो हाम्रो र हाम्रो देशकै लागि लज्जास्पद विषय हो। अब समय आइसकेको छ हामीले हाम्रो देशलाई देखाइदिने ताकि गणित र विज्ञानको महत्व के छ भन्ने। हामीले गणितप्रतिको संसारको बुझाइलाई खोलेर यो सामाजका अगाडि राखिदिनुपर्छ ताकि हाम्रो समाजले हाम्रा शिक्षितहरुले फेरि फर्केर गणित पढ्न सकुन्।

तेस्रो यो नेपाली शिक्षामाथिको ठूलो षड्यन्त्र हुन सक्छ यस्तो षड्यन्त्र गर्ने नेपाली शिक्षाभित्र आचार्य द्रोणहरु आज पनि जीवितै छन्। अब हामीले ती द्रोणाचार्यहरुलाई तह लगाउने बेला आइसकेको छ। त्यसका लागि हामीले ती द्रोणाचार्यहरुको पहिचान गर्नुपर्छ। तिनीहरुको पहिचान गरेर देशका अगाडि उभ्याइदिनुपर्छ। हामीले आधुनिक शिक्षाभित्रका आचार्य द्रोणहरुलाई काबुमा राख्नुपर्ने समय आएको छ। मात्रै हामीले बुझेर अघि वढ्नै पर्ने कुराको खाँचो छ।

आजको दुनियाँमा देशमा गणितको अनिवार्यतामाथिकै पक्ष र विपक्षमा वहस हुने कुराले हाम्रो चिन्तन र बुझ्ने चेतनामाथिको त्यति राम्रो संकेत दिँदैन, परन्तु यसले त्यसमाथिको हाम्रो चिन्तन र हेर्ने दृष्टिकोण अवश्य उदाङ्गो बनाइदिएको छ। बरु गणितभित्रका विषयसूचिमाथि वहस गर्न जरुरी छ। यसका समीकरणमाथि घगडान बहस हुनु अपरिहार्य छ। ती कसरी भए ? किन भए ? केका लागि जरुरी छ ? जसको हाम्रो देशमा आजसम्म बहसै भएको छैन। बहस गर्ने जमात पनि रोजीरोटीको जगेर्ना गर्न र लुक्ने छाप्रो बनाउने ध्याउन्नमा छ, त्यो पनि कठोर मेहेनतका साथ।

जसरी एक रिक्सावाला र एक ज्यामी रएक श्रमिक दिनभरि काम गरेर पसिना बगाएर पनि फेरि गाँसबाँस र आवासको कठिनाइसँग जुधिरहेको छ, त्यसरी त्यो पढेलेखेको वर्ग पनि प्राध्यापक छ र स्कुलको शिक्षक कोही इन्जिनियर छ, कोही अनुसन्धानकर्ता छ, तैपनि त्यसको बहसमा सरिक हुन सकेको छैन। त्यस्ता तमाम मानिसहरुलाई राज्यले बेवास्ता गरेको छ। तिनीहरुका कठिनाइहरुलाई चिन्ने प्रयत्न यो राज्यले गरिरहेको छैन। त्यसैले यस्ता जल्दाबल्दा ज्ञानविज्ञानमाथि हुने बहस अन्यत्रै जाने र तिनको छिनोफानो पुँजीवादी समाजको प्रजातान्त्रिक पिंजडाभित्र रहेको जमातले भोटको आधारमा गरिदिने ठूलो खतरा पैदा भएको छ। जुन खतराको घण्टी हो। किनभने यो कुनै तथाकथित प्रजातन्त्रको विषय पनि होइन। यो भोटबाट वा जनमतबाट छान्ने विषय होइन। मानिलिनुस् कि गिता बाइबल, कुरानमध्ये बाइबलका पादरीहरुले बहस चलाए र बिजुली कुनै मानिसले पत्ता लगाएको होइन यो त परमेश्वरले माइकल फराडेलाई यस धर्तीमा पठाएका हुन् भनेर भन्यो र यो बेलायती संसदले बहुमतले अनुमोदन गरिदियो भने के होला ? त्यसैले यो संसदको बहुमतले निर्णय गर्ने विषय होइन। यस्ता कुराहरुमा हामीले अध्ययन अनुसान्धान गरेर निर्णय गर्नुपर्दछ। यो शक्ति र सत्ताको सनकमा गरिने विषय होइन।

भौतिकशास्त्र, गणित र रशायनशास्त्रको अनन्य सम्बन्ध छ। गणित, रसायनशास्त्र, गणित– भौतिकशास्त्र, गणित–जीवशास्त्र, गणित–कम्प्युटर साइन्स, गणित इन्जििनियरीङ एकअर्काप्रति निर्भर रहेका छन्। यिनीहरुलाई एकअर्काबाट छुट्टाउनै सकिँदैन। कसैले छुटाएर पनि छुट्टिदैनन्। भौतिकशास्त्र पढ्दा गणित र रसायनशास्त्र आफै आइहाल्छन्। रसायनशास्त्रभित्र जीवशास्त्र आइहाल्छ अथवा गणितभित्र भौतिकशास्त्र हुन्छ भने भौतिकशास्त्रभित्र गणित।

हामीले धेरै कुरा गर्‍यौं अब हामी एउटा उदाहरणमा नै जाउँ।

हामी धेरै टाढा नजाउँ, सबैका प्रिय र प्रसिद्ध भौतिकशात्री अल्बर्ट आइन्स्टाइनको प्रसिद्ध सिद्धान्त मास इनर्जी रिलेशनलाई नै लिउँ न। जसलाई गणितमा व्यक्त गर्ने सुत्र हो E= mc2. धेरै बुझ्नै परेन। यो भनेको कुनै पनि वस्तुको एनर्जी त्यो वस्तुको मास र लाइटको गतिसँग बराबर हुन्छ भनेको हो। यहाँ यस परिभाषालाई अझ प्रमाणित गर्न गणितको आवश्यकता प¥यो, अनि त्यो सुत्र लेखियो। अब यो हुन्छ कि हुँदैन त भनेर हेर्न क्यामेस्ट्री रसायनशास्त्र चाहियो। त्यहाँका पदार्थहरुबाट एउटा लिएर हामीले प्रयोग गर्नुपर्ने भयो। कुन तत्वको लिने त्यो तत्वको बारेमा त रसायनशास्त्रले अध्ययन गर्छ। कस्तो तत्व हो ? त्यसले गर्ने रासायनिक प्रतिक्रियाहरु कस्तो हुन्छ, त्यसका गुणहरु के–के हुन्, यो सबै कुरा रसायनशास्त्रले गर्छ। अथवा कुन तत्वसँग प्रतिक्रिया गर्दा कस्तो रिजल्ट निकाल्छ। तत्वका रसायनिक क्रिया प्रतिक्रियाहरुको अध्ययन त रसायानशास्त्रले गर्ने भयो। जब ती प्रतिक्रियामा मात्राको कुरा आउँछ, त्यहाँ गणित आइहाल्छ। त्यो गणित जोडघटाउको हुँदैन, जो हामीले सोचेका छौँ। केही मानिसहरुले गणित किन पढ्नुप¥यो। बोझ हुन्छ, सानो कक्षामा सामान्य जोडघाटाउ पढिसकेकै हुन्छन् भन्ने कुरा गरिरहेका छन्, जुन सफेद झुट कुरा हो। असली गणित त माथिल्लो क्लासमा सुरु हुन्छ। माथिल्लो क्लासमा पढिएको गणितले तल्लो क्लासलाई सहयोग पनि गर्दछ।

हामी धेरैलाई लागेको होला बिजगणित किन पढ्ने माथिल्लो क्लासमा। समान्य क्लासहरुमा त पढिएकै थियो। झन् माथि जाँदा बिजगणित (Alzebra) किताब पनि छुट्टै हुन्छ। स्क्वाएर भनेको छ, समीकरण भनेको छ, ल.स. र म.स. भनेको छ, यसको प्रयोग कता हो ? के खाने हो त यसलाई भन्ने पनि धेरै प्रश्नहरु छन् र उठाइएका छन्। सामान्य बाबुछोराको उम्मेर निकाल्न पनि यसको प्रयोग हुन्छ। जनसंख्या शिक्षामा पनि यसको प्रयोग हुन्छ। सबैभन्दा वैंक उद्योगहरुमा, इन्जिनियरिङमा यसको प्रयोग हुन्छ। अथवा गणित आउने ठाउँमा बिजगणित आई नै हाल्छ। हामीले यस लेखमा माथि केही सीमित ठाउँलाई देखाएर यसको प्रयोग कहाँ हुन्छ भन्ने देखायौं। तर कसरी हुन्छ त ?

जस्तो हामीले माथि नै उदाहरण पेश गरेका छौँ । आइन्सटाइनको मास इनर्जी रिलेसनमा। कुनै वस्तुको इनर्जी त्यस वस्तुको पिण्ड र लाइटको गतिसँग बराबर हुन्छ। त्यसलाई देखाउन त गणितीय भाषा प्रयोग भयो। र लेखियो E=mc2 यहाँ जुन समीकरण छ यो बिजगणितीय समीकरण हो। यसलाई हल गर्न त बिजगणित नै चाहियो होला नि त। यै हो बिजगणित।

हामी एक अर्को उदारण पनि लिन सक्छौं। कक्षा १० मा पहिलो पाठ छ बल (Force)। त्यहाँ न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वब्यापी नियम (Newtons Universal Law of gravitational) छ। न्युटनको उक्त नियममा न्युटनले भनेका छन् कि “कुनै दुई आकासीय पिण्डहरुबिच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती दुई वस्तुहरुको पीण्डको गुणनफलसँग समानुपातिक हुन्छ भने ती दुई पीण्डको केन्द्रीय दूरीको वर्गसँग ब्युत्क्रमानुपातिक हुन्छ। उनले परिभाषा त दिए। तर त्यसको प्रयोगमा जानुपर्‍यो। अब उनले अर्को भाषा प्रयोग गरे, जुन गणितको भाषा हो र त्यो भित्रको बिजगणितको भाषा हो।

न्युटनको परिभाषामा दुईवटा कुरा छन्। पहिलोमा उनले गुरुत्वाकर्षण बल पिण्डहरुको गुणनफलसँग बराबर हुन्छ भनेका छन्। यहाँ हामीले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण बलकै कुरा गर्छौं भने मानौं कि पृथ्वी पिण्ड M छ चन्द्रमाको पिण्ड M छ तिनीहरुको बिचको दूरी D छ भने ती दुई पिण्डहरुको गुरुत्वाअकार्षण बल F छ भने,

पिण्डको गुणनफलसँग बराबर हुन्छ, भन्नाले पीण्ड घट्दा घट्छ र पीण्ड पढ्दा बल पनि बढ्छ भनेको छ गणितको भाषामा Math । (बल समानुपातिक।)

केन्द्रीय दुरीको वर्गसँग ब्युत्क्रनुपातिक हुन्छ। दुरीलाई दोब्बर बनाइदियो भने बल घट्छ भन्न खोजेको हो अथवा दूरीसँग असमान छ। (बल व्युत्क्रमानुपातिक)

गणितको भाषामा यसरी लेखिन्छ F = MA

यी समीकरण बिजगणितको भाषामा लेखिएको छ र यिनीहरुको समाधान गर्दा पनि बिजिगणितका नियमहरु नै प्रयोग गर्नुपर्छ। यस्तै गणितको प्रयोग अरु तथ्यांकशास्त्र, एैकिक नियम, अहिलेको क्वान्टम मेकानिक्स, फिजिकल क्यामिस्ट्री, कृषि विज्ञान, भू तथा अन्तरीक्ष विज्ञान, ज्योतिषशास्त्र आदि जुन हामीले यहाँ उल्लेख नै गर्न सकेका छैनौं, त्यहाँ यसको प्रयोग भएकै हुन्छ। गणितको महत्व कति छ भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं। आजको दुनियाँमा यसको महत्वलाई कुनै शब्दमा व्यक्त गर्दा पनि अपूरो हुन सक्छ। यसलाई शब्दमा व्यक्त गर्न कठिन पर्छ। गणित बिनाको विज्ञान भनेको अक्सिजन बिनाको मान्छे बाँच्नसक्छ भन्नू जस्तै हो। यदि हावाबिना मानिस भयो भने त्यसमा जीवन होला कि नहोला ? हामी कल्पना गरौँ त ? त्यो निर्जीव हुनेछ। आजको विज्ञानलाई विज्ञान गणितले नै बनाएको हो। यदि गणित हुँदैनथ्यो भने के गणित र रशायनशास्त्र बिनाको भौतिकशास्त्र हुनसक्थ्यो ? के रशायनशास्त्र बिनाको जीवशास्त्र हुनसक्छ ? यी सबै एकअर्काको परिपुरक हुन्।

यदि गणित हुँदैनथ्यो भने विज्ञान कुनै जड/पुरातन दर्शनको रुपमा हुने थियो। त्यो विज्ञान नभएर कुनै कथिएको काल्पनिक कथा हुन्थ्यो।

इतिहासलाई गणितले इतिहासको रूपमा उभ्याइदिएको छ। आज महाभारत रामायणहरु, जो काव्य र कथाको रूपमा छन्। यदि त्यहा गणित हुन्थ्यो भने ती आज विज्ञान हुन्थे। के त्रेता युगमा भएको भनिएको रामायणमा पुष्पक विमानको कुरा गरिएको छैन र ? के आज संसारलाई यहाँसम्म पुर्‍याउने पाङ्ग्रा द्वापरयुगको अन्त्यमा भएको भनिएको महाभारत कथामा कृष्णको रथमा थिएनन् र ? यशुले चमत्कार गर्नुभयो भनेर बाइबलमा भनिएको छैन र ? कुरानमा अल्लाहको चमत्कारको कथाहरु छैनन् र ? उसोभए हामीले तिनीहरुलाई किन विज्ञान भनेनौं त ? ग्यलिलियो ग्यालिलीलाई नजरबन्द गर्ने धर्मले कम्प्युटरबाट आफ्नो प्रचार गरिरहेको छैन र ? हिन्दुधर्मका महापण्डितहरुले विज्ञानले गिताबाट धेरै लियो भनेर नाटक रच्दैनन् र ? आफ्नो केही नलागेपछि धर्मात्मा र पादरीहरुले गिता, बाइबल, कुरानका कुरा विज्ञानसँग मिलेका छन् भनिरहेका छैनन् र ? आजको दुनियाँमा धर्मको पाखण्ड कसैका सामु लुकेको छैन र त्यस्तो कुनै धर्म छैन, जसले युटुब फेसबुकबाट अझ भन्दा इन्टरनेटको प्रयोगबाट विज्ञानको विरोध नगरेको होस्। यदि ती धार्मशास्त्रहरुले गणितको भाषामा बोल्थे भने ती विज्ञान हुन्थे, ती धर्मको मन्दविष खुवाइरहने थिएनन्। तिनीहरुले पुष्पक विमान बनाइसकेका हुन्थे। आजको समाज धेरै अगाडि हुन्थ्यो। हामी अझै अगाडि हुन्थ्यौं।

विज्ञान कसैको विरोध गर्दैन र यसलाई आफू सर्वेसर्वा हुन कसैका विरुद्ध जाँदैन र जान आवश्यक पनि छैन। जब आफ्नो गणितीय भाषामा यसले तथ्यपूर्ण सत्यलाई अगाडि राख्दछ। त्यहाँ धार्मिक कर्मकाण्डको कुनै स्थान नै हुँदैन। किनकि यो तथ्यमा हुन्छ। यसले शब्दमा होइन, गणितीय भाषामा बोल्न थाल्दछ। जब यसले बोल्छ। त्यसलाई प्रमाणित गर्न आफ्नो प्रयोगको परीक्षामा खरो उत्रिन्छ। सही भए सही भन्छ, गलत भए गलत भन्छ। यसले धर्मजस्तो ढाेंग गर्दैन।

छोटकरीमा भन्दा विज्ञान गणितको साहित्य हो भने गणित विज्ञानको कला हो। जसरी मानव समाजमा साहित्य हुन्छ, त्यो साहित्यलाई प्रदर्शन गर्न कलाद्वारा सिद्ध गर्नुपर्ने हुन्छ। कला साहित्यको स्रोत सामाज हो भने विज्ञानको स्रोत यो ब्रह्माण्ड हो। त्यसैले साहित्य गणित विनाको कला हो भने विज्ञान गणित कला हो। यदि विज्ञानसँग गणित भएन भने त्यो सामाजको साहित्य भन्दा केही हुनेछैन। यदि गणित हुँदैनथ्यो भने विज्ञान कतै थोत्रा गिता, बाइबल र कुरानजस्ता आदर्शवादी दर्शनशास्त्रको रुपमा विज्ञानको विरोध गरिरहेको हुन्थ्यो र तिनीहरुले जस्तै विज्ञानको अदृश्य सहारामा विज्ञानविरोधी हर्कत गरिरहेको हुन्थ्यो। त्यसले आज पनि चटक देखाइरहेको हुन्थ्यो।

यहाँ हामी भन्न सक्दछौं कि जसरी समाजमा साहित्य हुन्छ, त्यो सामाजको भाषा हो। जब समाजमा धेरै बोल्ने कुरा साहित्यले थोरैमा वा बिम्वात्मक शैलीमा प्रस्तुत गर्छ। तर विज्ञान धेरै गणितद्वारा बोल्छ। अथवा विज्ञानलाई गणितले बुझाउँछ।

तर हाम्रो देश नेपालको पाठ्यक्रम विकास केन्द्रले गणितलाई अनिवार्य नबनाएर ऐच्छिक बनाइदिएको छ। सरकारले विद्यार्थीको जीवनमाथि खेल खेलिरहेको प्रतीत हुन्छ। र, शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई त्यसैको इसारामा नचाइरहेको छ। त्यो विद्यार्थीविरोधी कुरा हो, नेपालको शिक्षाविरोधी निर्णय हो। यदि सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले जनताका छोराछोरी फेल भए भनेर चिन्तित हुन्थे भने अध्यापन गराउने शैली परिवर्तन गर्नुपर्दथ्यो। कसरी गणित बुझाउने विद्यार्थीहरुलाई। उनीहरुले गणितलाई प्रयोगमा लैजानुपर्दथ्यो। गणितलाई कसरी सरल बनाउने, विज्ञालाई कसरी सामाजभित्र लैजाने, कसरी यो पराम्परागत र रुढीवादी सामाजको मन र मस्तिकमा लैजाने छाउगोठ भएको दिमाग कसरी भत्काउने भन्ने नसोचेर गणितलाई नै पाठ्यक्रमबाट हटाउने काम गरियो, जुन आसाध्यै प्रतिगामी छ र यो सामाजलाई पछाडि फर्काउने खेल हो। यो उल्टो प्रवाह हो।

पहिलो कुरा त ११ र १२ लाई विद्यालय तह बनाउने भनेर प्रविणता प्रमाण तह खारेज गरियो। अहिले आएर संकायहरु खारेज गरेर भद्रगोल बनाइयो। र, गणित विषयलाई हटाइयो। अथवा ऐच्छिक बनायो। शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको आफ्नै निर्णय नै एकअर्कामा बाझिए। विद्यालय बनाउने हो भने त ९–१० जस्तै कुन–कुन विषय पढाउने हो अनिवार्य हुनुपर्‍यो नि, जसमा गणित पनि अनिवार्य नै हुन्छ। एकातिर संकाय खारेज पनि गर्ने अनि अर्कातिर ११ र १२ लाई स्नातकजस्तो पनि बनाउने। विद्यालयतहको पाठ्यक्राम नबनाएर सनकमा अर्कै किसिमको बनाइएको छ। शिक्षा मान्त्रलय र पाठ्यक्रम विकास केन्द्रको यो चाला आफैमा अवैज्ञानिक र कुतर्कमा आधारित छ ।

गणित नै नपढेका विद्यार्थीहरुले विश्वविद्यालयहरुमा इन्जिनियरिङ, वनविज्ञान, कम्प्युटर विज्ञान पढ्न पाउने छैनन् भने भौतिकशास्त्र, रसायनशास्त्र, भू–गर्भशास्त्र, मौसमविज्ञान, लगायत पढ्ने विद्यार्थीलाई पनि यसले निकै हानी पुर्‍याउने छ नै। वाणिज्य र व्यवस्थापन लगायतका क्षेत्रमा पनि निकै नोक्सान पुर्‍याएको छ।

गणितका कारण विद्यार्थी फेल भए त्यसैले अब विदेशी अनुदान नआउने भयो भनेर तर्क गरिएको छ। क्या गजब तर्क छ। त्यो पनि कलाविहिन तर्ककासाथ भनिरहेको छ। कसैको अनुदान नामको भीखको आशमा हामी बाँचिरहेका छौं र हाम्रो देशको शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई विदेशी दाताहरुको अनुदानमा हामीले सञ्चालन गर्न थाल्यौं र विदेशीहरुले जे भन्यो, त्यो गर्दै गयौं भने हाम्रो शिक्षा क्षेत्र पूरै ध्वस्त हुनेछ।

पश्चिमा देशहरुको इसारामा बनाइएको पाठ्यक्रम नेपालको शिक्षा क्षेत्रलाई सिध्याउने नयाँ षड्यन्त्र हो। यसले एकातर्फ फेरि नेपालमा रहेको जनशक्तिलाई विदेश पलायन हुन बाध्य पार्नेछ भने अर्कातर्फ नेपालमा कमजोर जनशक्ति उत्पादन हुनेछ। अहिलेको शिक्षा प्रणालीअन्तर्गत रहेको मौजुदा विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा आधारित विषयवस्तु अध्ययन गरेर उत्पादित जनशक्ति नै विदेशमा भाँडा माझ्न विवश हुनुपरेको छ। अथवा आफूले अध्ययन गरेको विषयअनुसारको काम गर्न पाएको छैन। यो नयाँ पाठ्यक्रमले नेपालका युवाहरु नेपालका कुनै विश्वविद्यालयबाट स्नातकोत्तर हासिल गरेर कुनै कोचिङ सेन्टरमा गएर कोरियन, जापानिज र हिब्रु सिक्न बाध्य बनाउने छ। नपढेकाहरु र कमजोर पढाइ भएकाहरुलाई खाडी मुलुक धाउन बाध्य बनाउने छ। जुन देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ।

त्यसैले विज्ञान र गणितलाई अभिसाफको रुपमा लिएर हटाउनुभन्दा पनि यसलाई मानव जीवनमा आर्जन भएको असाधरण वरदानका रुपमा ग्रहण गरेर अगाडि बढ्नुपर्दछ। विज्ञान र गणितलाई हटाउनुभन्दा बरु कसरी सरल बनाउने भन्नेतिर लाग्नुपर्दछ। अहिलेका फर्मुलाहरु आजको गणित हाम्रा वैज्ञानिकहरुले छाडेर गएका छन्। अझ कसरी हामीले अनुसन्धान गरेर कम मेहेनतमा बुझ्न सकिने बनाउन सक्छौं, त्यो जिम्मेवारी हाम्रै काँधमा आएको छ। अफ्ठ्यारो छ भनेर थोमस अल्वा एडिसनले विद्युतीय चिमको आविष्कार नगरेको भए, ग्यालेलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार गर्न छोडेको भए, माइकल फराडे अफ्ठ्यारो काम भनेर बसेको भए के आज विद्युत हुन्थ्यो कि हुन्थेन होला। अल्बर्ट आईन्स्टाइनकै कुरा गरौं यस्ता अनेक उदाहरण छन्। यी सबै अफ्ठ्यारा कामहरु हुन्।

के हामीलाई यी कामहरुभन्दा गणित पढ्न गाह्रो हो त ? पक्कै होइन। हामीले विदेशीहरुले हाम्रो शिक्षामाथि हमला गर्न बनाएको षड्यन्त्रलाई चिर्नैपर्छ। नेपाली युवालाई फेरि पनि विदेशिको सस्तो कामदार बनाउने र विदेशी शिक्षाको मालामाल बनाउने। नेपालका विद्यालय विश्वविद्यालयहरुलाई ध्वस्त बनाएर केही निश्चित वर्गलाई विदेशी विद्यालय र विद्यालयमा पढ्ने वतावरण बनाउनका लागि ल्याइएको पाठ्यक्रमलाई बेलैमा सच्याउन दवाब सिर्जना गरिएन भने नेपालको शिक्षा क्षेत्र फेरि एक पुस्ता पछाडि धकेलिनेछ।

त्यसैले प्रश्न गनुपर्ने भएको छ। गणितमा फेल भएर दुःखी भएकाहरुलाई पाठ्यक्रमबाट गणित हटाइदिएर सुःखी बनाउने अनि समृद्ध नभएको नेपाललाई समृद्ध बनाउन विज्ञान नै हटाई दिएर पाठ्यक्रम विकास केन्द्रले सरकारको समृद्ध नेपाल सुःखी नेपालीको नारा सफल पार्न खोजेको हो ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्