गलत काम गराउन आए गेटबाटै तह लगाइ दिन्छुः घनश्याम भुसाल

Ghanashyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। कृषिमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमाथि राजनीति हस्तक्षेप रहेको बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का व्यवस्थापन तहका अधिकारीहरुसँगको छलफलमा मन्त्री भुसालले कृषि क्षेत्रमा राजनीति हस्तक्षेप रोक्नु पर्नेमा जोड दिएका हुन्। उनले कृषि क्षेत्रमा राजनीति क्षेत्रबाट आउने हस्तक्षेप रोक्न आफू क्रियाशिल हुने पनि बताए।

उनले भने ‘कसैले तपाईहरुलाई अनावश्यक दवाव दिन्छ भने सिधै मलाई भन्नुहोस्, यस्ता सबै दवावहरुलाई म तह लगाउँछु। त्यसो भएपछि तपाईंहरुले त परिणाम दिनु पर्यो नि।’ मन्त्री भुषालले नार्कमा रहेको वेथिति देख्दा आफूलाई भाउन्न भएको बताउँदै अब त्यसरी नहुने बताए। उनले जिम्मा लिएका कर्मचारीले आफ्नो जिम्मेबारी पुरा नगर्ने प्रवृत्ति हावी भएको भन्दै काम गर्न नसक्ने हो भने त्यहाँबाट हटि दिनु पर्ने बताए।

‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ। अब कुनै बहानावाजी होइन, जुनसुकै हालतमा पनि परिणाम चाहिन्छ। विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस्। परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस्’ मन्त्री भुषालले भने। अब बहानाबाजी गरेर बस्ने समय नभएकाले परिणाममुखी कार्य सम्पदान गर्नु पर्नेमा उनको जोड थियो।

उनले आफुलाई कृषि क्षेत्रको चौकिदार भएको समेत दाबी गरे। उनले भने ‘म कृषि क्षेत्रको चौकीदार हुँ। कसैले यसभित्र पसेर वदमासी गर्न खोज्छ, तपाईंहरुलाई गलत काम गर्न दवाव दिन्छ भने मैले गेटबाटै तह लगाइ दिन्छु।’ मन्त्री भुषाले देश बिगारेको राजनीतिज्ञले भएको तर त्यसमा कर्मचारीको पनि उस्तै भुमिका रहेको बताए। उनले कृषि क्षेत्र प्रदुषित भएकाले यसको शुद्धिकरण आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्