घरेलु प्रतियोगिता भएर पनि किन प्रख्यात छ आइपिएल ?

लाेकपाटी न्यूज

विश्वास भट्टराई
क्रिकेटको सुरुवात आजभन्दा चारसय वर्षअघि बेलायतमा भएको थियो । बेलायतले विश्वका धेरै राष्ट्रलाई आफ्नो उपनिवेश बनाउने क्रममा यस खेलको फैलावट विश्वभर हुँदै गयो । वर्तमान समयमा विश्वका १ सय ४ राष्ट्रमा यो खेल खेलिन्छ । बेलायतमा जन्म भएको यस खेलको लोकप्रियता भारत लगायत दक्षिण एसियाली मुलुकमा अझ बढी देखिन्छ ।

सुरुवाती चरणमा ५ दिन लामो ‘टेस्ट म्याच’ मात्र खेलिने गरिन्थ्यो । त्यस पश्चात् एक दिनमा सिमित ‘वान डे’ फरमेट हुँदै तीन घण्टामा नै सकिने ‘टि–ट्वान्टी’ विधिको आरम्भ भयो । ‘टि–ट्वान्टी’ छोटो समयमा समापन हुने र अन्य बिधि भन्दा बढी रोमान्चित हुँदा यसको लोकप्रियता अझ वृद्धि भयो । सन् २००३ मा सुरुवात गरिएको उक्त माध्यममा आधारित रहेर भारतीय क्रीकेट बोर्ड बिसिसिआइले २००८ मा इन्डियन प्रेमियर लिग आयोजना गर्यो । जम्मा १२ वर्षको छोटो इतिहास बोकेको यस प्रतियोगिता भारतमा मात्र नभई विश्वभर हेर्न थालियो । तसर्थ, लोकप्रियता र हेर्ने श्रोताका आधारमा आज हेर्दाहेर्दै यो विश्वकै छैटौं ठूलो खेलकुद प्रतियोगिता बन्न सफल भयो ।

इन्डियन प्रेमियर लिग विश्वभर प्रख्यात हुनुका कारणहरुः

१. भारतीय जनतामा क्रिकेट प्रतिको बढ्दो क्रेजः

विश्वमा रहेका क्रिकेटप्रेमी मध्य ६० प्रतिशत भारतीय जनता नै छन् । भारतमा क्रिकेटलाई एउटा साधारण खेलको रुपमा मात्र नलिइ यसलाइ एउटा साझा धर्मको रुपमा मानिन्छ र खेलाडी लाई भगवानसँग तुलना गरिन्छ । जसकारण १ सय २० करोड जनसंख्या भएको राष्ट्र भारतमा ३ घण्टामै सकिने, क्लब क्लब बीचको यस नयाँ फर्म्याटलाई अझै बढी मनोरञ्जनात्मक मानेर एउटा पर्व वा उत्सवका रुपमा मनाउन थालियो ।

२. ठुला–ठुला हस्तीहरुको भारी लगानीः
यस प्रतियोगिताको सुरुवाती चरणदेखि नै मुकेश अम्बानि, शाहरुख खान, विजय माल्या जस्ता दिग्गज व्यक्तिको भरपुर लगानि थियो । जसकारण विश्वका उत्कृष्ट खेलाडी पनि आ–आफ्नो क्लबमा सामेल गराउन सफल भएका थिए । ६ दशमलब ७ बिलियन डलर ‘ब्रान्ड भ्याल्यु‘ रहेको यस प्रतियोगितामा अन्यको भन्दा खेलको स्तर, खेलाडीको पारिश्रमिक तथा प्रसारण गुणस्तर निकै उच्च हुने गर्दछ । धेरै क्रिकेटरका लागि आइपिएल अरु लिग प्रतियोगिताभन्दा पृथक लाग्दछ ।

३. राष्ट्रिय भावनासँग नजोडिएकोः
आइपिएल अघि जति पनि क्रिकेटका प्रतियोगिताहरु देश–देशबीच हुन्थे । आइपिएल भने दुइवटा क्लबबीच हुने पहिलो प्रतियोगिता थियो । जसकारण आफ्नो देश र आफ्ना खेलाडी मात्रको समर्थ्न गरेका दर्शकले अब विश्वका उत्कृष्ट खेलाडीको समर्थन गर्न सक्थे । जस्तै, क्रीस गेल, एबि डि भिलियर्स जस्ता खेलाडीहरु आफ्नो राम्रो खेल र व्यवहारका कारण विश्वभरिका दर्शकको मन जित्न सफल भएका थिए । अरुकुनै राष्ट्रका खेलाडी हुँदा खुलेर उनीहरुको समर्थन गर्न असहज हुन सक्थ्यो । तर यस आइपिएल फर्म्याटले त्यो समस्या पूर्णरुपले उन्मुलन गरिदियो र दर्शकहरुले खेल राष्ट्रियताको नजरले भन्दा खेलाडी र उत्कृष्ट प्रदर्शनको आधारमा समर्थन गर्ने मौका प्राप्त गरे ।

४. उदायमान प्रतिभादेखि विश्वस्तरिय खेलाडिको सहभागिताः
आइपिएलमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खेलाडी पनि खेल्न पाउने व्यवस्था थियो । जसकारण यस खेलको माध्यमबाट दर्शकहरु आफ्ना सन्यास भएका खेलाडीलाई पुनः मैदानमा देख्ने अवसर पाए । पछि तिनै खेलाडी आ–आफ्नो फ्रेन्चाइजबाट प्रशिक्षकको भुमिकामा देखिन लागे । जसले, अझ खेलको सोभा बढाइदियो । यति मात्र नभई यो प्रतियोगिता नयाँ प्रतिभा प्रस्फुटनका लागि निकै भव्य मञ्च बनेको छ । साना साना सहर वा देशका प्रतिभावान खेलाडीलाई यसले विश्वसामु चिनाउने गर्दछ । यसको उदाहरण हामी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सक्छौं । आइपिएलमा खेल्ने मौका पाएसँगै उनी विश्वमा खेलिनी सबै लिगमा भाग लिन सफल भएका थिए ।

५. भव्य प्रचार–प्रसार र विवादास्पदः
अधिक लगानिमा आयोजित यस प्रतियोगिताको प्रचारका निमित्त प्रत्यक फ्रेन्चाइज लगायत बिसिसिआइद्वारा निकै धेरै धनराशि छुट्टयाइएको हुन्छ । बलिउडका चलचित्रकर्मी तथा अन्तर्राष्ट्रिय स्तरका हस्तिको सहयोगमा प्रचार गरिने हुँदा यस प्रतियोगिताले महिला पुरुष दुबैको ध्यानाकर्षण गर्न सफल बनेको छ ।
यो प्रतियोगिता थुप्रै विवादका कारण पनि निकै चर्चामा भइरहन्छ । हर्भजन र श्रीशान्थबीचको झगडा होस् या चेन्नै सुपर किङ्ग्स र राजिस्तान रोयल माथी लगाइएको म्याच फिक्सिङको आरोप । त्यस्तै, शाहरुख खानको वाङखेडे कान्ड लगायतका घटनाहरुले पनि यो खेल बढी विवादमा र चर्चामा आइरहेको हुन्छ ।

६. सहरी वर्गिकरणः
आइपिएलमा सहभागी सबै फ्रेन्चाइजिको नाम भारतका प्रमुख सहरको आधारमा राखिएको छ जस्तै चेन्नै सुपर किङ्ग्स, मुम्बइ इन्डियन्स । बढी जनसंख्या भएका उक्त सहरका नामकै कारणले घरेलु दर्शकको चासो र समर्थन अझ बढाइदिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्