चाैरसियाकाे श्रद्धाञ्जली कार्यक्रम स्थगित, न्यायका लागि लडिरहनेछु : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या भएको १३ औं दिनको पुण्य तिथि पारी कार्तिक २६ गते आयोजना गरिएको श्रद्धाञ्जली सभा कार्यक्रम स्थगित गरिएको छ।

देशको राष्ट्रिय राजनीति अत्यन्त गम्भीर अवस्थामा रहेको र विश्व महामारीको कहरको अवस्थालाई मध्यनजर गर्दै श्रद्धाञ्जली सभा स्थगित गरिएको नेकपा पर्सा बिन्दवासीनी गाउँपालिका कमिटी अध्यक्ष बिक्रम प्रसाद चौरसियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,१३ औं दिनको पुण्य तिथिमा पार्टी केन्द्रीय कमिटीका कार्यकारी अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट नेता कमरेडहरुको समुपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो, तर देशको राष्ट्रिय राजनीति अत्यन्त गम्भीर अवस्थामा रहेको र विश्व महामारीको कहरको अवस्थालाई मध्यनजर गर्दै १० औं हजारको जनसहभागितामा हुने श्रद्धाञ्जली सभा बारे केन्द्रीय अध्यक्ष क.प्रचण्डको सल्लाह अनुसार स्थगित गर्नुपर्ने मनासिब ठानी श्रद्धाञ्जली सभा कार्यक्रम स्थगित भएको छ। यस निर्णयबाट दुखी हुने पिडित परिवार,सम्पूर्ण कार्यकर्ता पंक्ति, समर्थक शुभचिन्तक,सहयोगी हातहरु एवं तमाम जनसमुदाय समक्ष क्षमाप्रार्थी छौं।’

यसैबिच, नेकपाका अध्यक्ष प्रचण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै चौरसियाको न्यायको पक्षमा लडिरहने प्रतिवद्धता जनाएका छन्। चौरसीयाको श्रद्धाञ्जली कार्यक्रममा उपस्थिति नहुने विज्ञप्तिमार्फत जानकारी दिँदै चौरसिया परिवारलाई उचित न्यायको पहल गर्न पार्टी प्रतिवद्ध रहेको विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘भोली हुन गइरहेको श्रद्धाञ्जली कार्यक्रममा कोभिड-१९ को महामारी र राष्ट्रिय राजनीतिमा उत्पन्न समस्याका कारण प्रमुख अतिथिका रुपमा मेरो उपस्थिति हुन नसक्ने जानकारी गराउँदछु। मृतक कमरेड चौरसिया परिवारलाई उचित न्यायको पहल गर्न पार्टी प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु। कमरेड चौरसियाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।’

p 1

p2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्