चित्रबहादुर केसीको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णय

chitra-bahadur kc
लोकपाटी न्यूज

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।

केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्। मन्त्री पौडेलले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले बताए।

केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो। केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो। केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्