चिनियाँ कम्युनिस्ट पार्टीले भन्योः ‘विजय नजिकै आइसकेको छ’

CPC
लोकपाटी न्यूज

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको हालै सम्पन्न पाँचौँ पूर्ण विस्तारित बैठक (प्लेनम) ले आगामी १५ वर्षका लागि महत्त्वपूर्ण कार्यदिशा लिएको छ। सन् २०३५ सम्ममा जनवादी गणतन्त्र चीनलाई नवप्रवर्तनमा आधारित आधुनिक समाजमा विकास गर्न उक्त बैठकले खाका निर्धारण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेका छन्।

जस अनुसार चीन आगामी १५ वर्षका लागि नवप्रवर्तन, वास्तविक अर्थतन्त्र, दरिलो आन्तरिक बजार, ग्रामीण पुनरुत्थान, सूचना प्रविधि विकास, नवीनतम औद्योगीकरण, आधुनिक कृषि, व्यवस्थित सहरीकरण र हरित विकासमा व्यापक रूपले केन्द्रित रहने भएको हो। चीनले अब वातावरण मैत्री विकासलाई थप मजबुत पार्ने र कार्बन उत्सर्जनमा पनि अझ कमी ल्याउने प्रण गर्दै देशको सांस्कृतिक सफ्ट पावर अझ व्यापक बनाउने अवधारणा सारेको छ।

सो बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको मूल नेतृत्वले १४औँ पञ्चवर्षीय योजनाका लागि तय गरेको ‘राष्ट्रिय आर्थिक र सामाजिक विकास’ र चीनको ‘दीर्घकालीन योजना’ पनि पारित गरेको छ। बैठकले नेताहरूले चीनलाई सबै दृष्ट्रिकोणबाट मध्यम स्तरको समृद्ध समाज निर्माणका लागि ‘विजय नजिकै आइसकेको’ निष्कर्ष निकाल्दै चीनलाई अब आधुनिक समाजवादी देशमा विकासमा अगाडि बढाउने प्रण लिएको भन्दै समाचार एजेन्सी सिन्ह्वाले एक टिप्पणी लेखेको छ।

पूर्ण बैठकमा विगत पाँच वर्षमा हासिल भएका उपलब्धिहरूको बारेमा पनि चर्चा गरिएको थियो। स्मरण रहोस्, सन् २०२० मा चीनको कुल ग्राहस्थ उत्पादन १ सय ट्रिलियन युआन पुगेको छ भने ५ करोड ५७ लाख भन्दा धेरै ग्रामीण जनतालाई गरिबीको रेखाबाट माथि ल्याइएको छ। त्यसैगरि चीन अहिले विश्वकै सबैभन्दा वृहत् सामाजिक सुरक्षा प्रणाली विकास गर्ने देश बनेको छ। यससँगै चीनले अब समाजवादी बजार अर्थतन्त्रका लागि थप सुधार र खुलापनको नीति अवलम्बन गर्नेछ र आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ध्यान दिने भएको हो।

आधुनिक समाजवादी मुलुक बनाउन भन्दै चीनले आउँदो ५ वर्षका लागि ‘डुअल सर्कुलेशन’ अर्थात् विकासमा दोहोरो वितरणको आयाम अवलम्बन गर्नेछ। जानकारहरूका अनुसार चीनले लिएको पछिल्लो कदमले सो मुलुकको राष्ट्रिय सामर्थ्य ह्वात्तै माथि जाने र चौतर्फी विकासमा नयाँ फड्को लिँदै विश्वव्यापी रूपमै चीन लिडरको रूपमा स्थापित हुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले उक्त सत्रमा बोल्दै चीनमा उच्च गुणस्तरको विकासका लागि आव्हान गरेका थिए।

सन् २०२१ बाट सुरु हुने १४औ पञ्चवर्षीय योजनामा अन्तर्राष्ट्रिय सहयोग, बराबरी लाभमा आधारित सहकार्य, बेल्ट एण्ड रोड इनिसियटिभमार्फत सहकार्य र विश्वव्यापी आर्थिक शासन पद्धतिमा सुधार ल्याउने गरी कार्य गरिने पूर्ण बैठकमा प्रस्तुत दस्ताबेजमा उल्लेख छ। यसका साथै, चीनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रहरूको शान्तिपूर्ण विकास र राष्ट्रिय पुनःएकिकरणमा आफ्नो प्रतिबद्धता दर्शाएको छ।

नेपालका विज्ञको भनाई के छ ?

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलका विचारमा चीनले आफ्नो १५ वर्षीय दीर्घकालीन लक्ष्य र १४औँ पञ्चवर्षीय योजनामा केही पक्षमा बढी जोड दिएको देखिन्छ। ९० को दशकको विश्वव्यापीकरणको मान्यता विपरीत विभिन्न देशहरूमा नेतृत्व आइरहेको सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीले ल्याएको दस्ताबेजमा अन्तर्राष्ट्रिय बजारका साथसाथै राष्ट्रिय बजारमा ध्यान केन्द्रित गरेको भन्दै डा पोखरेलले चीनले नवप्रवर्तन र प्रविधिमा उल्लेख्य मात्रामा ध्यान दिएको छ भने।

‘ग्रामीण अर्थतन्त्रलाई प्रविधियुक्त बनाउने र अबको विकास वातावरणसँगै जानेछ भन्ने अवधारणा सबैले सुन्न र देख्न लायक छ,’ डा पोखरेलले थपे। डा पोखरेलका अनुसार चीनको आगामी १५ वर्षको योजना धेरै हदसम्म वास्तविक र प्राप्त योग्य छ।

अर्थविद् डा कल्याणराज शर्माले चीन नेपालको पुरानो र घनिष्ठ छिमेकी हुनुका नाताले पनि त्यहाँ हुने विकासले हाम्रो विकासको अवधारणालाई थप बलियो बनाउन मद्दत पुग्ने बताए। ‘चीनसँग विकासमा सहकार्य र साझेदारीमार्फत लाभ लिन सकिन्छ। चीनको सिम क्षेत्रमा हुने विकासले स्वतः नेपाललाई पनि लाभ पुग्छ। छिमेकी बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार पनि चीन जति बलियो भयो हामीलाई त्यति नै फाइदा पुग्छ। यसले संसारमा आशा जगाएको छ,’ डा शर्माले भने।

त्यसैगरि पूर्व राजदूत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले उक्त पूर्ण बैठकले आधुनिक चीन निर्माणको दिशामा अघि बढ्ने बाटो तय गरेको विचार राखे। ‘अब चीनले अमेरिकासँग रहेको विकासका ग्यापहरू मेट्ने छ। यो बैठकको निहित उद्देश्य अमेरिकालाई चीनले उछिन्ने भन्ने नै देखिन्छ’, श्रेष्ठले विश्लेषण गरे। पहिलाभन्दा यस पटक के फरक छ भने अहिले बाह्य बजारका साथै आन्तरिक बजारलाई बढवा दिने भनिएको छ जुन ज्यादै महत्त्वको हो, परराष्ट्रविद् श्रेष्ठले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्