चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात

sudur_himpat
फाइल तस्बिर
लोकपाटी न्यूज

गोरखा। उत्तरी गोरखामा गएरातिदेखि भिषण हिमपात सुरु भएको छ। मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायत क्षेत्रमा हिमपात पर्न सुरु भएको सामागाउँका मिङ्मार लामाले जानकारी दिए।

हिमपात सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए। ‘हिमपातसँगै चिसो पनि बढ्न थालेको छ,’ लामाले भने, ‘दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ।’ उनले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए।

‘मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ,’ लामाले भने, ‘हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरुसमेत चलाउन कठिनाइ भएको छ।’

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर लामाले बताए। हिमपातका कारण लार्केपास र रुइला नाका जाने बाटोसमेत अवरुद्ध भएको छ।