चौतारा साँगाचोकगढी नगरपालिकाले ल्यायो ‘सहुलियतपूर्ण कर्जा’ कार्यक्रम

chautara
लोकपाटी न्यूज

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले  ‘सहुलियतपूर्ण कर्जा’ कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रमका लागि नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता समेत भएको छ। बुधवार नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमानसिं तामाङले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पछि कृषि तथा लघु उद्यम गर्न चाहने युवाहरूले २ प्रतिशत ब्याजदरमा ॠण लिन सक्ने भएका छन्। चालु आर्थिक वर्षमा चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवर्द्धनका लागि विनियोजन गरेको १ करोड र नेपाल बैंकले थप १ करोड गरी २ करोड ॠण प्रवाह हुनेछ। उद्यममा लाग्न चाहने नगरवासीले बैंकको नियमानुसार विनाधितो २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म ॠण लिन पाउने नगरपालिकाले जनाएको छ।

कोरोना भाइरस (कोभिड-१९)का कारण रोजगारी गुमाएका र विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यस कार्यक्रमबाट स्वरोजगार प्रवर्द्धन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ। स्वदेशमै कृषि तथा लघु उद्यम गर्न चाहन युवाहरूका लागि उक्त कार्यक्रमले ठुलो सहयोग गर्ने नगरपालिका उपप्रमुख जानुका पराजुलीले विश्वास व्यक्त गरिन्।

‘स्वरोजगार तथा उद्यम प्रवर्द्धन कार्यविधि २०७७’ बनाएर युवाहरूलाई उक्त सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उनले जानकारी दिइन्। उपप्रमुख पराजुलीका अनुसार यस कार्यक्रमबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ ब्यावसाय सञ्चालन गर्न चाहने नगरवासीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

स्थानीय स्रोत, साधन र सिपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पुरा गर्न नगरपालिकाले नेपाल बैंकसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन्। उनले भनिन्, ‘हामीले यस वर्ष देखि यो कार्यक्रमको सुरुवात गरेका छौं। यसको रिजल्ट हेरेर आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

यसले नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको संख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखेको उनले बताइन्। नगर प्रमुख अमानसिं तामाङले यस्ता प्रकारको कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पुरा हुने विश्वास व्यक्त गरे। नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने प्रत्येक वस्तिमा पुगेर नयाँ कार्यक्रम निर्माण गरिरहेको उनले बताए। नगरप्रमुख तामाङले स्थानीयको सहभागितामा विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्