छठ पूजा गर्न पाउनु पर्ने माग

chhath
लाेकपाटी न्यूज

मोरङ, २४ कार्तिक। विराटनगरस्थित विभिन्न संघ संस्थाले छठ पर्व मनाउन पाउनु पर्ने माग गरेका छन्। स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन्।

कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ।

विराटनगर महानगरलगायत मोरङ जिल्लाभरि कोरोना संक्रमण दैनिक बढिरहेकाले स्थानीय प्रशासनले नदी, तलाउमा भिडभाड गरेर छठ पर्व मनाउनमा रोक लगाएपछि उनीहरुले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्।

झरना चोक छठपूजा समारोह समिति विराटनगरका सचिव अमृतकुमार साहले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सुरक्षित तरिकाले नदी, तलाउमै गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन दिन स्थानीय प्रशासनसँग माग गरे।

‘छठ पर्व मूल समारोह समितिले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिंघीया नदीमा छठ मनाउन अनुमति माग्न जाँदा घर घरमै सुरक्षित तरिकाले पर्व मनाउन आदेश दिएको छ,’ उनले भने, ‘नदी, तलाउमै गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउने सांस्कृतिक परम्पराविपरीत घरमा मनाउन नसकिने भएकाले यस्तो माग गरेका छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्