‘जबज’को पक्षमा कर्णालीमा बृहत् भेला, को-को हुँदैछन् सहभागी ?

JaBaJa_Karnali
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी विभाजनको सम्भावित दुर्घटना रोक्न लबिइङ सुरु भएको छ। दुई अध्यक्षबाट आउनले अलग-अलग राजनीतिक प्रस्तावले पार्टी विभाजनको दिशामा डोर्‍याउने आकलन सहित आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्नेमा नेताहरु लबिइङमा छन्।

संयुक्त प्रस्तावलाई नेकपा दुर्घटनाबाट जोगिने बुझाइसहित लबिइङ भइरहेको बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा भेलाको आयोजना गरिएको छ। शनिबार दिउँसो १२ बजे देखि आयोजना हुने भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको निमन्त्रणा पत्रको नारा जनताको बहुदलीय जनवाद-जिन्दावाद राखिएको छ।

भेला आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशकी सचिव हेमा खड्काले खेलाडीलाई सम्मान गर्ने र नेकपाको परिस्थिति अनुसार जबजबारे छलफल पनि गर्ने गरि भेला आयोजना गरेको बताइन्। उनले भनिन, ‘अहिले राजनीति उथपुथल भइरहेको छ। पूर्व एमालेले आत्मसाथ गरेको जबज उत्कृष्ट विचार हो। त्यसबारे छलफल गर्न आवश्यक परेकाले भेला आयोजना गरिएको हो। कर्णालीमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने अर्को हाम्रो उद्देश्य पनि हो।’

खड्काले जबज महत्वपूर्ण भएपनि यसलाई लात मारेर अघि बढ्ने कोशिस भइरहेकाले आफूले जबजका पक्षमा सक्रियता देखाएको बताइन्। भेलामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल सामेल हुँदै छन्। विशेष अतिथिका रुपमा मदन भण्डारी स्पोट्स एकेडेमी एकेडेमीको केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य सामेल हुँदैछन्।

यस्तै मदन भण्डारी फाउण्डेसनको बुटवल उपमहानगरपालीको अध्यक्ष, मदन भण्डारी स्पोटर्स एकेडेमीको फुटवल विभाग प्रमुख र मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल जिल्ला अध्यक्ष सामेल हुँदैछन्। भेलामा सामेल सबै अतिथिले जबजका पक्षमा बोल्ने छन्। नेकपाका युवा नेता र खेलप्रेमीलगायत सामेल हुने भेला वीरेन्द्रनगरको घण्टाघरस्थित सभाहलमा हुँदैछ।

ओली पक्षले पार्टी विभाजित गर्नुपर्ने अवस्था आएमा जबजका पक्षमा रहेकाहरु एकै ठाउँमा हुनुपर्ने भन्दै यसबारे प्रशिक्षण र भेलाहरु बढाउँदै लगेको छ। पूर्वएमालेको जबज र पूर्व माओवादीको २१ सौँ सताब्दीको जनवादलाई छोडेर पार्टी एकताका बेला जनताको जनवादलाई नेकपाले आफ्नो तात्कालिन कार्यक्रमको रुपमा घोषणा गरेको थियो। प्रचण्ड पक्षले ओलीसँग विवाद उत्कर्षमा पुग्नुको एउटा कारण ओली पक्षले पार्टी एकतामा गरिएको सहमतिबिपरीत जबजका पक्षमा वकालत गरेकोलाई पनि मानेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्