टेकु अस्पतालले फिर्ता लियो धरौटी रकम लिने निर्णय

Teku hospital
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ कार्तिक। आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले जनाएको छ।

टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो।  तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो।

टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गर्नुका साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए। कोभिड-१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख टेकु अस्पतालमा मानिन्छ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको समेत बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्