ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरीः यसरी समातिए ट्यांकर, के हुन्छ कारबाही ?

pic
लाेकपाटी न्यूज

काठमाडौं। इन्धन बोक्ने ट्यांकरचालकहरूले नयाँ शैली अपनाएर पेट्रोल चोरी गर्ने गरेको पत्ता लागेको छ। नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरको च्याम्बरभित्र नयाँ सानो ट्यांकी (फल्स च्याम्बर) बनाएर पेट्रोल चोरी गरेको घटना बाहिरिएको हो।

तीन वर्षअघिदेखि ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरेयता सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधि अपनाउँदै चोरी जारी राखेका थिए। यसपटक ट्यांकरभित्र नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई त्यहाँ तेल हालेर चोरी गरेको भेटिएको हो। यस्तो सानो ट्यांकी स्थायी रूपमा फिटिङ गरिएको छ।

निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन थालिएको बताए । ‘पेट्रोल लिएर आएको ट्यांकरको परिमाण परीक्षण गर्ने क्रममा दुईवटा ट्यांकरमा कम तेल फेला परेको छ । यसको विस्तृत अध्ययन थालिएको छ,’ उनले भने ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २०–२० हजार लिटर पेट्रोल बोकेर आएको ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकरमा कम तेल पाइएको हो।
निगमको थानकोट डिपोमा कार्यरत वरिष्ठ सहायक कपिल भट्टका अनुसार बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिप रडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरमा ९ सयदेखि ९ सय ५० लिटर कम पेट्रोल भेटिएको थियो ।

डिपोबाट खबर आएपछि बिहीबार दिउँसो प्रधान कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितका प्राविधिक कर्मचारी र गुणस्तर तथा नापतौल विभागबाट महानिर्देशक विश्वबाबु पुडासैनीसहितका कर्मचारीले थानकोट पुगेर ट्यांकरको परीक्षण गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

सो क्रममा दुवै ट्यांकरको ३ र ४ नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो। त्यसमै तेल लुकाएर चोरी गरिएको निगमले जनाएको छ ।
तेल चोरी गरे पनि ताल्चा र आधुनिक लकिङको सबै फिटिङ दुरुस्तै रहेको छ । ट्यांकरभित्र कृत्रिम ट्यांकी बनाई तेल लुकाउने र त्यसरी लुकाएको तेल बिक्री गरी निगमलाई आर्थिक नोक्सानीमा पु¥याउने काम चालकहरूले मात्र आँट्न सक्दैनन्।

यसमा ट्यांकर साहुहरूको समेत संलग्नताको आशंका गरिएको छ। आयल निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी दुवै ट्यांकर वीरबेताल आशीर्वाद कम्पनी प्रालिको रहेको जानकारी दिएको छ। कम्पनीका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन्।

ट्यांकर सञ्चालकहरूलाई करिब १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको निगम प्रवक्ता उपाध्यायले बताए। कम तेल ल्याएको पुष्टि हुनासाथ ट्यांकरचालकहरू भने बुधबार साँझदेखि नै सम्पर्कविहीन छन्।

ट्यांकरको ढुवानी सम्झौता खारेजदेखि जेल सजायसम्मको कारबाही हुन सक्ने ट्यांकरभित्रै नयाँ ट्यांकी बनाई तेल चोरी गर्ने चालकलाई कडा कारबाही गर्ने तयारीमा नियामक निकाय छ। चेम्बरभित्र पार्टेसन गरी एकपटकमा करिब १ हजार लिटर पेट्रोल चोरी गर्दा निगमलाई एकपटकमा करिब १ लाख रुपैयाँको नोक्सान हुन्छ।

दुवै ट्यांकरले अहिलेसम्म चेम्बरभित्र पार्टेसन गरी करिब १५ लाख रुपैयाँको तेल चोरी गरेको अनुमान छ। ट्यांकर साहु र चालकलाई तत्काल १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ।

ट्यांकरमा तेल ओसार्नका लागि निगमले सम्झौता गर्दा ट्यांकरको ढाँचामा परिवर्तन गर्न नपाइने, तोकिएभन्दा कम वा बढी परिमाण ढुवानी गर्न नपाइने सर्त राखिएको छ। यस्तो सर्त उल्लंघन गर्नेलाई सम्झौता खारेज गर्नेसम्मको व्यवस्था भएको प्रवक्ता उपाध्यायले बताए ।

‘ट्यांकरसँग इन्धन ढुवानी सम्झौता गर्दा यस्तो बदनियत गरे सम्झौता खारेजी गर्नेसम्मको व्यवस्था गरिएको छ । ‘हामीले त्यही व्यवस्थाअनुसार कडाभन्दा कडा कारबाही गर्नेछौँ,’ उनले भने। निगमले बिहीबार नै गुणस्तर तथा नापतौल विभागलाई पनि आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ट्यांकरभित्र नयाँ ट्यांकी बनाई तेल चोरी गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको बताए । ‘यही व्यवस्थाअनुसार हामी चालक, सहचालक र ट्यांकर साहुलाई कारबाहीको निर्णय गर्नेछौँ,’ उनले भने ।

यसरी समातिए ट्यांकर

आयल निगमले गत भदौदेखि देशभरका डिपोमा तेल लिएर आउने ट्यांकरको गुणस्तर र परिमाण परीक्षणमा कडाइ गरिएको छ। आइओसीको डिपोबाट तेल ल्याउने ट्यांकरले के–कसरी अपचलन गर्छन् भन्ने कुराको जानकारी लिन निगमले सुराकीसमेत परिचालन गर्न थालेको छ ।

त्यसै क्रममा ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकरले च्याम्बरभित्र नयाँ ट्यांकी बनाई तेल अपचलन गर्दै आएकाले निगरानी राख्न थानकोट डिपोलाई केही दिनअघि सूचना आएको थियो ।

सो सूचनापछि दुवै ट्यांकरले तेल बोकेर आउने दिन कुरेर डिपोका कर्मचारी बसेका थिए । बुधबार साँझ दुवै ट्यांकर तेल लिएर आएपछि कर्मचारीले सधैँजस्तै डिप रडले नापेर तेलको परिमाण परीक्षण गरे ।

सो क्रममा ट्यांकरभित्र तोकिएकै परिमाणमा तेल रहेको पाइयो। त्यसपछि सुराकीले दिएको जानकारीअनुसार ट्यांकरको खानतलासी गर्दा दुवै ट्यांकरको ३ नम्बर च्याम्बरभित्र पार्टेसन गरी नयाँ ट्यांकी बनाएको भेटिएको हो।

ट्यांकरमा स्टिल पार्टेसन गरी ढाँचा नै परिवर्तन गराई तेल चोरी गरेको घटनाबारे जानकारी पाएपछि गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी कर्मचारी लिएर आफैँ बिहीबार दिउँसो थानकोट डिपो पुगेका थिए।

पुडासैनीका अनुसार ३ नम्बर च्याम्बरको भाग कम हुने गरी त्यहाँ स्टिलको पार्टेसन गरी करिब एक हजार लिटर क्षमताको नयाँ ट्यांकी बनाइएको फेला परेको छ । ‘चार हजार लिटरको च्याम्बरमा पार्टेसन गरी नयाँ ट्यांकी बनाइएको छ । जहाँ करिब एक हजार लिटर पेट्रोल अटाउन सकिने देखिन्छ,’ पुडासैनीले भने ।

आयल निगमले तेलको परिमाण डिप रडले नाप्ने भएकाले त्यसकै फाइदा उठाई चालकहरूले नयाँ ट्यांकी थपेर तेल अपचलन गर्ने उपाय निकालेका हुन्। ‘चेम्बरभित्र वेल्डिङ नै गरेर स्थायी ट्यांकी बनाइएको छ । त्यहाँ तेल राखेको वा नराखेको डिप रडले नापेर पत्ता लाग्दैन,’ पुडासैनीले भने ।

ट्यांकरमा रहेको प्रत्येक चेम्बरको ढकनबाट डिप रड घुसाई पिँधसम्म लगेर तेल नाप्ने गरिएको छ। यस्तो नाप प्रणालीले च्याम्बरको सबै भागमा डिप रडले छुँदैन। बीचभागमा डिप रड घुसाएर लिएका नापका आधारमै तेलको परिमाण गणना गर्ने निगमको पुरानो शैली अहिलेसम्म कायम छ। जसकारण तेल चोर्न चालक र कर्मचारीलाई धेरै सजिलो छ।

समातिएका दुवै ट्यांकरमा ४ हजार लिटर क्षमताका ५–५ वटा चेम्बर छन्। चालकहरूले ४–४ हजार लिटर तेल अटाउने चेम्बरको बीचभागमा करिब एक हजार लिटर तेल अटाउने अर्को चेम्बर बनाई चोरी गरेका हुन्। उक्त चेम्बरमा राखिएको तेल चालकहरूले भारततर्फ नै बेचेर आउने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्