तिलोत्तमाको वडा नं. ९ मा पनि खुल्यो सरकारी स्वास्थ्य संस्था

tt
लोकपाटी न्यूज
0 Shares

तिलोत्तमा, २५ कार्तिक। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ। मंगलबारबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ।

वडा नं. ९ को दक्षिणटोलमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले उद्घाटन गरे। हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो। स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेको छ।

हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन्। आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन्।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन्। कार्यक्रममा वडाध्यक्ष नारायण न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, नेत्र वनलगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोलेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्