तिहारमा तीन दिनसम्म बैंक बन्द

लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन्। सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो। संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मंसिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताउछन्।

‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ,’ उनले भने। हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन्।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ। गत वर्ष दशैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्