दश दिनको समय दिनुस्, लिखित प्रतिवेदन ल्याउँछु : ओली

kp oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय बैठकमा पेस गरेको प्रस्ताव लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भएको बताएका छन्। बुधबार बसेको सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक नेताले जानकारी दिए।

उनका अनुसार ओलीले आफूमाथि लागेका आरोपको एक एक जवाफ दिने तर त्यसका लागि केही दिन समय लाग्ने बताएका थिए। ओलीले आफ्नो अलग्गै प्रतिवेदनका लागि १० दिनको समय दिनका लागि बैठकमा प्रस्ताव गरेका थिए।

“प्रधानमन्त्रीले प्रचण्डको प्रस्ताव लाञ्छनायुक्त गम्भीर आरोपले भरिएको छ भनेर भन्नुभयो,” एक सदस्यले जानकारी दिँदै भने,“यसको प्रतिवाद नगरी बस्न सकिँदैन। म एक एक जवाफ दिन्छु। त्यसका लागि केही समय लाग्छ। त्यसपछि बैठक बसौँला।”

ओलीको प्रस्ताव लेख्नका लागि समय माग गरेपछि सचिवालय बैठक १३ गतेसम्म स्थगित गरिएको छ। त्यस्तै बैठकले मंसीर १८ गते स्थायी समिति र मंसीर २५ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।

गत कार्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले नेकपाभित्रका सबै समस्याको कारण केपी शर्मा ओली भएको निष्कर्षसहितको १९ पेज लामो प्रतिवेदन ल्याएपछि नेकपाको विवाद उत्कर्षमा छ। ओलीको प्रतिवेदनपछि दुवै प्रतिवेदनमाथि छलफल हुने नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्