दस्तावेज लेख्दै अध्यक्ष प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकायरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भावि कार्यदिशा के हुने पार्टीलाई बैचारिक दिशातिर उन्मुख बनाउने तयारी गरिरहेका छन्।

आफूमाथि पदीय र पदका लागि ‘वार्गेनिङ्ग’का रुपमा देखिएको भन्ने आरोपलाई साम्य पार्न पार्टीको नयाँ कार्यदिशासहित अगाडि बढ्ने मार्गका लागि प्रचण्डले ‘नयाँ दस्तावेज’ लेखिरहेका छन्।

प्रचण्डको दस्तावेजमा पार्टीको बाँकी रहेका कामको टुंगो, आगामी आउने केन्द्रीय कमिटी बैठक हुँदै महाधिवेशनसम्मका लागि आधार हुने स्रोतले दाबी गरेका छ। प्रचण्ड यतिबेला भने निवासमै बसेर दस्तावेजको खेस्रा कोर्दै छन्। पार्टीभित्र पटक–पटक देखिएको विवाद पद र भागबन्डामा गएर प्रचण्ड सहमत हुने भनि आरोप खेपेकाले त्यसलाई चिर्न उनले नयाँ दस्तावेज तयार गर्दै छन्। सो दस्तावेजमार्फत् पार्टी एकता र पार्टी जीवनलाई रक्तसञ्चार गर्ने बलियो आधार बन्ने अड्कलमा प्रचण्ड देखिएका छन्। पार्टीभित्र विवाद चर्किएरहेको बेला अध्यक्षद्वयबीच दोहोरो सम्वाद पातलिएको छ।

प्रचण्डले हिजो–आज भेटघाटलाई बन्द गरेर नयाँ दस्तावेज लेखिरहेका छन्। पार्टीभित्र अप्ठ्यारो परेमा केही समय मौन बसेर कुनै रिर्सोटमा गएर नयाँ दस्तावेज लिएर आउने प्रचण्ड कोरोना महामारीका कारण यतिबेला भने निवासमै बसेर दस्तावेज लेख्दै गरेको स्रोतले जनायो। अब दस्तावेज बोल्छ’, प्रचण्ड निकट स्रोतले भन्यो। कात्तिक १५–१७ सम्म डाकिएको केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सारिएको छ।

कोरोना संक्रमणको बिगबिगी र शिर्ष नेतृत्वमा देखिएको किचलोले केन्द्रीय कमिटी बैठक एक महिना सारिएको हो। आगामी मंसिर मध्यमा आव्हान गरिएको केन्द्रीय कमिटी बैठकलाई लक्षित गरी प्रचण्डले दस्तावेज लेख्दै छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्