देशभर गुटगत भेला गर्ने ओली समूहको तयारी

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएका बेला गुटगत भेलाहरु हुने क्रम पनि बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंमा जिल्ला भेला आयोजना गरेको छ। काठमाडौंको बसुन्धारामा ओली समर्थक नेताहरुले आइतबार जिल्ला भेला गरेका हुन्।

नेकपाका जिल्ला अध्यक्ष कृष्ण राईको संयोजकत्वमा भएको यो भेलामा उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि सम्बोधन गरेका थिए। मदन भण्डारी फाउन्डेसनको ब्‍यानरमा भएको कार्यक्रममा संघीयमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेशमन्त्री रामेश्वर फुयाललगायत नेताहरू उपस्थित रहेको बताइएको छ।

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको जानकारी गराए। जिल्ला अध्यक्ष राईका अनुसार भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए।

‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो। हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’, राईले भने, ‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो। शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन। ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने।

पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए। केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए। मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यहाँ पनि जबजको पक्षमा एकढिक्का हुन र मदन भण्डारी फाउन्डेसनका नाममा बहस चलाउन निर्देशन दिएका थिए।

‘साँचो कुरा के हो भने आज हामी निर्देशित भएको विचार जनताको बहुदलीय जनवाद नै हो। त्यही कुरालाई समातेर हामी अगाढि बढ्छौं,’ उनले भेलामा भनेका थिए। त्यही भेलामा पोखरेलले देशैभर यस्ता गुट भेला गर्ने पनि जानकारी दिएका थिए। पूर्वएमालेहरूलाई एकजुट गर्न भेला डाकिएको नेकपाका एक नेताको जिकिर छ। पछिल्लो समय काठमाडौं जिल्लामा मदन भण्डारी फाउन्डेसन सक्रिय हुन थालेको ति नेताको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्