राजेन्द्र बिक/ बाजुरा, २० कार्तिक। बाजुराको सबैभन्दा ठूलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ। बिहीबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो।
खेलको अन्तिम दिन बिहीबार नेपाल प्रहरी र कन्सन बाजुराबिच भएको खेलमा कन्सन बाजुराले सानदार खेल प्रस्तुत सहित २ गोल आफ्नो पक्षमा पार्दै दोस्रो छेडेदह कपको विजेता बन्न सफल भएको आयोजकले जनाएको छ। प्रतियोगितको विजेता बनेको कन्सन बाजुरालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ।
त्यस्तै प्रतियोगिताको उपविजेता जिल्ला प्रहरी कार्यालय बाजुरालाई नगद १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्रदान गरिएको आयोजक छेडेदह स्पोर्टस् क्लवका अध्यक्ष लोकेन्द्र खड्काले बताए। खप्तड छेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा संचालन भएको उक्त प्रतियोगिता कार्तिक १३ गतेबाट संचालन भएको थियो।
खेलमा २२ वटा टिम सहभागि भएका थिए। उक्त प्रतियोगिताको उद्धघाट्न नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री कणर्बहादुर थापाले गरेका थिए।