धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठक सकियो, के-के भए निर्णय ?

cpn-nekapa
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएको सचिवालय सदस्यको भेलामा बिहीबार प्रधानमन्त्री ओलीसँग भएको भेटघाटको बिफ्रिङ तथा आगामी रणनीतिका बारेमा छलफल भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ।

पाँच सचिवालय सदस्यको उपस्थित रहेको बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस अघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई पटक पटक बैठक बोलाउन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले नमानेकाले आज अनौपचारिक बैठक बसेको प्रवक्ता श्रेष्ठले बताए।प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले औपचारिक बैठक बोलाएमा पार्टी फुट्ने सिलसिला त्यहीबाट शुरु हुने बताएको हुनाले उनकै सहमतिमा अनौपचारिक बैठक बसेको स्पष्ट पारे।

साथै शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सामूहिक रुपमा नै पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीसहित, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्