नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

Money
लाेकपाटी न्यूज

काठमाडौं। दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ। दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक छ।

उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको हो। दोहोरो रकम बुझ्नेहरूले रकम फिर्ता गरेको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए। ‘एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइयो,’ उनले भने, ‘यो कुरा थाहा पाएर ताकेता गरेपछि रकम फिर्ता भएको हो।’ उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन्। कात्तिक १४ सम्मको तथ्यांकअनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन्। लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउँछन्।

पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १ सय र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन्। यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो। दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ सय ४५ छ। त्यस्तै स्वेच्छाले फिर्ता गर्ने ४ सय ५ जना छन् जसमा पहिलो किस्ता ३ सय ९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् । यसअन्तर्गत दुई करोड ९ लाख रुपैयाँ फिर्ता भएको छ। ‘मैले दोहोरो रकम भुक्तानी लिएँ भनेर आफैं फिर्ता गर्न कोही आउँदैनन्,’ वस्तीले भने, ‘अनुगमन र उजुरीका आधारमा थाहा पाएपछि रकम फिर्ता गर्न ताकेता गर्ने गरेका छौं ।’

तथ्यांकअनुसार गोरखामा पहिलो किस्ता फिर्ता गर्ने २ सय ७१ जना छन्। दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने दुई दुई जना छन्। त्यस्तै काठमाडौंमा पहिलो किस्ता फिर्ता गर्ने ४५ जना छन्। दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने एक एक जना छन्। ललितपुरमा पहिलो किस्ता २ सय, दोस्रो २६ र तेस्रो किस्ता फिर्ता गर्ने दुई जना छन्।

रामेछापमा पहिलो किस्ता २२ र दोस्रो किस्ता फिर्ता गर्ने १ जना छन्। दोलखामा पहिलो किस्ता फिर्ता गर्ने ९१ जना, दोस्रो ५४ र तेस्रो किस्ता फिर्ता गर्ने २ जना छन्। रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन्। काभ्रेमा पहिलो किस्ता २ सय २०, दोस्रो २ र तेस्रो किस्ता फिर्ता गर्ने १ जना छन्। सिन्धुलीमा पहिलो किस्ता फिर्ता गर्ने १८ र दोस्रो किस्ता फिर्ता गर्ने ३ जना छन्। ‘धेरै मिहिनेतले यो रकम फिर्ता गराउन सफल भएका छौं,’ आयोजनाका वित्तीयविज्ञ हरिनारायण निरौलाले भने, ‘जसमा दोहोरो भुक्तानी लिने धेरै छन्। धेरैपटक ताकेता गरेपछि फिर्ता गरेका हुन्।’ आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्