नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन को हुन् ?

Joe_Biden
लोकपाटी न्यूज

काठमाडौं। महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडेनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ। आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडेन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ। र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन्।

डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपतिको रेकर्ड बनाएका छन्। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौंको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्, जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।

बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो। उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो। उनका पिता जोसेप बाइडेन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे। स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडेनले विद्यालयका झ्याल पुछ्ने र विवाह समारोहको बगैंचा सफा गर्नेलगायतका कामहरु गरे। पढाइमा राम्रो रुचि राख्ने बाइडन फुटबल पनि खेल्न रुचाउँथे। तर, बिस्तारै उनको ध्यान राजनीतितर्फ मोडियो।

बाइडेनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन्। सुरुमा भक्भकाउँदै बोल्ने बाइडन राम्रोसँग आफ्नो कुरा राख्न सक्दैनथे। पछि उनले लामा वाक्यहरु कण्ठस्थ गर्दै त्यसलाई ऐनाअघि बसेर भन्ने अभ्यास गरे र आफ्नो कमजोरीमा सुधार ल्याए। उनको यो संघर्षले अरुलाई पनि उत्प्रेरणा दिन सक्छ।

राजनीतिक यात्रा

सन् १९६८ मा बाइडेनले कानुनमा स्नातक गरे। त्यसपछि उनले एक ल र्फममा कानूनी अभ्यास गर्न थाले। साथै उनले डेमोक्रेटिक पार्टीको सक्रिय सदस्यता पनि लिए। सन् १९७० मा उनी न्यु कास्टलको कन्ट्री काउन्सिलमा निर्वाचित भए। बाइडेन सन् २००९ मा राष्ट्रपति बाराक ओबामासँगै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए। उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए ‘अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।’ त्यसपछिको आठ वर्ष उपराष्ट्रपतिका रुपमा काम गरेका उनले चार वर्षपछि राष्ट्रपतिमा जित हात पारेका छन्।

बाइडेन अमेरिकाको राष्ट्रपति बन्नका लागि गरेको तेस्रो प्रयासमा बल्ल सफल भएका हुन्। उनले तीन दशकभन्दा लामो समय अमेरिकाको माथिल्लो संसद् सिनेटमा बिताएका छन्। बाइडेनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गरेका थिए। तर, त्यसको ३३ वर्षपछि उनी विश्वको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति बन्न पुगेका छन्।

बाइडेनमाथि आरोप

लामो समय राजनीतिमा बिताएका बाइडेनमाथि विभिन्न किसिमको आरोप पनि लाग्ने गरेका छन्। यस्ता आरोपहरु अघिल्लो चुनावमा डोनाल्ड ट्रम्पमाथि पनि प्रशस्तै लागेका थिए। गत वर्ष बाइडेनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे। प्रतिक्रियामा बाइडेनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर अब थप सावधान हुने बताएका थिए।

तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडेनले यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन्। बाइडेनले भने यसलाई अस्वीकार गर्दै आएका छन्। त्यस्तै, बेलाबेलामा उनले गलत दाबी गर्ने र विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै बाइडेनको आलोचना हुने गरेको छ।

पारिवारिक वेदना

बाइडेनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए। बाइडेन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। बाइडेनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए।

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडेनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडेनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ। तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्