निकुञ्जमा शिकारीले मारे चार गैँडा

gaida-mrita-fela
  • 2
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २२ कार्तिक। चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन्। यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो। आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन्। दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो। टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो। हालै मात्र त्यस क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेको छ।

दुवैको खाग तस्करले लगेको बरालले बताए। एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान छ। माउ र बच्चाको खाग लगेकोे भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ। यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ। बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुन सक्ने बताए। सो गैँडा गएको आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ।
निकुञ्जमा शिकारीले चार वर्षयता गैँडा मार्न सकेका थिएनन्।

विंं. संं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए। गएको वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए।

निकुञ्जमा शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिए। बरालले भने, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए। एकाएक शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए। निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ। निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ।

सन् २०१५ को गणनानुसार नेपालमा ६ सय ४५ गैँडा छन्। यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए। निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८र५९ मा मरेका हुन्। त्यस वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्