नेकपा सचिवालयको बैठक धुम्बाराहीमा जारी

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक धुम्बाराहीमा सुरु भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठकमा उपस्थित भएका छन्।

बैठकमा अध्यक्ष केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल भने उपस्थित भएका छैनन्। गत शुक्रबार बोलाइएको सचिवालय बैठकमा पनि यीनै पाँच सदस्यहरु मात्र उपस्थित भएका थिए। उपस्थित सदस्यहरुले ओलीलाई भेटेर सचिवालय बैठकको लागि आग्रह गर्ने निर्णय गरेका थिए। सोही अनुसार शनिबार ओलीलाई दुई पृष्ठको पत्र बुझाइएको थियो।

आजको बैठकपछि प्रचण्डले सचिवालय बैठक बोलाउने आकलन गरिएको छ। स्रोतका अनुसार एकपटक अनौपचारिक छलफल गरेर औपचारिक बैठकको मिति तय गर्ने उनीहरूको तयारी छ। धुम्बाराहीको बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच भेट भएको छ। बालुवाटारबाट सिधै प्रचण्ड धुम्बाराही पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटको ब्रिफिङ प्रचण्डले बैठकमा गर्दैछन्।

यसअघि प्रधानमन्त्री ओलीको सन्देश बोकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए। प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका थिए। अध्यक्ष प्रचण्डले पार्टी भित्रको समस्या समाधानका लागि नै सचिवालय बैठक आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्