नेकपाको एकता बचाउने १० उपाय

Premal khanal
प्रेमलकुमार खनाल

१. भदौ २६ को स्थायी समितिको निर्णयलाई अक्षरशः पालना र कार्यान्वयन गरौं। विधानको अक्षरशःपालना गरौं। उत्पन्न समस्या पार्टीको शीघ्र बैठकको आयोजना गरेर आन्तरिक रुपले समाधान गरौं।

२. पार्टीको नियमित कामलाई गति दिन कार्यकारी अध्यक्षले गर्ने कामको पुनर्परिभाषित गरौं।

३. सरकारले नियुक्ति गर्ने मन्त्री, राजदूत र अन्य नियुक्तिबारे पार्टीको सम्बन्धित निकायबाट अनिवार्य सिफारिस र सम्बन्धित निकायमा छलफल गरी पार्टीको माइन्युटिङ्ग गरेर नियुक्ति गर्न सिफारिस गर्ने परिपाटीको विकास गरांै। यसअगाडि भएका नियुक्तिको योग्यता, क्षमता, अनुभव, अवसर, वरिष्ठताको मापदण्डका आधारमा परीक्षण गरी संस्थागत गर्ने व्यवस्था गरौं।

४. एक व्यक्ति एक प्रमुख कार्यकारी जिम्मेवारीलाई दृढतापूर्वक स्थापित गरेर पार्टी र सरकारका दुवै मोर्चाबाट उत्कृष्ट कार्य सम्पादन गरेर पार्टी र सरकारको शाख अभिवृद्धि गर्ने काम गरौं।

५. सरकारले गर्नुुपर्ने महत्त्वपूर्ण निर्णय र भेटघाट जस्तै राष्ट्रिय सरोकार र राष्ट्रिय महत्त्वका विषयमा पार्टीभित्र छलफल गर्ने, पार्टीलाई पूर्वजानकारी गराउने र आवश्यकताअनुसार प्रमुख प्रतिपक्षी र अन्य राजनीतिक दलहरुको परामर्श लिने परिपाटीको थालनी गरौं।

६. पार्टीका नेतृत्वको उपस्थितिमा र प्रमुख आतिथ्यतामा पूर्वएमालेहरु, पूर्वमाओवादीहरु छुट्टाछुट्टै भेला गर्ने कामलाई बन्द गरौं।

७. समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको नयाँ कार्यक्रमको बहसउन्मुख हुनुपर्ने बेलामा जबजवालाहरु एक होऔं, पूर्वएमाले एक होऔं, पूर्वमाओवादी एक होऔं भन्ने सबैखाले गतिविधि बन्द गरी नेपाली क्रान्ति सम्पन्न गर्ने समाजवादी क्रान्तिको कार्यक्रमको बहस गर्न औपचारिक थालनी गरौं।

८. माथिका कामलाई तत्काल पूरा गर्दै पार्टी एकताका सम्पूर्ण कार्य सम्पन्न गरौं। पार्टी सदस्यता नवीकरण र अभिलेखीकरणलाई व्यवस्थित गरौं।

९. कोरोना महामारीको नियन्त्रणमा जनतालाई सचेतनता अभिवृद्धि गर्न, उद्दार र राहतमा सहयोग पु¥याउन सिंगो पार्टी पंक्ति परिचालित हुने र यसमा अन्य राजनीतिक दल, जनस्वास्थ्य विज्ञहरु, स्वास्थ्यकर्मीहरु परिचालित गरेर टोलबस्ती, घरपरिवारसम्म सुरक्षित, सावधानी हुने स्वास्थ्य सचेतनता अभियान र यसको निरन्तर अनुगमन गरेर यो महामारीमा पार्टी र सरकारको भूमिकालाई ऐतिहासिक रुपमा जनस्तरमा स्थापित गरौं।

१०. कोरोना महामारीको उपचार निशुल्क गरौं। जिल्ला, समुदाय स्तरमा कन्ट्राक्ट टेस्ट, स्वाब परीक्षण, पर्याप्त बेड, आइसियु, भेन्टिलेटर उपकरणसहितको ब्यवस्था गरेर सुदृढ स्वास्थ्य पूर्वाधारको व्यवस्था, स्वास्थ्यकर्मी, जनशक्ति, राहत, रोजगारीमा अधिकतम श्रोत साधन परिचालन गर्न श्रोतको अभाव हुन नदिन महामारीको यस विपदको घडीमा सहयोगी मनहरुबाट केन्द्रीय राहत कोषमा जिन्सी र नगद सहयोग गर्न अपिल गरौं। अनुत्पादक र सुविधामुखी खर्च तथा दीर्घकालीन योजना र बजेटको रकम कटौती गरी कोरोना उपचार, राहत र रोजगारी केन्द्रीत हुने गरी पुरक बजेट निर्माण गरि प्रभावकारी कार्यान्वयन गरेर कोरोनामुक्त देश बनाउन उन्मुख बनौं।

(खनाल नेकपाका केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्