पार्टी सचिवालयको विपक्षमा किन उभिए विष्णु पौडेल ?

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालयले नेतृत्वदायि भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग महासचिव पौडेलले सचिवालयको भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता पनि औल्याए।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावट गर्ने ‘कोर अफ दि लिडरसीप’का रूपमा मान्यता पाएको सचिवालयले आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको टिप्पाणी पौडेलको छ। नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेकोले सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा भएको उनको भनाई छ।

उनले भनेका छन्, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ। त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु। यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रूपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने पनि बताए। उनले, ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौं। हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौं। हाम्रो अभिभारा ठीक ढंगले पूरा गर्न नसक्ने भयौं। त्यसैले तपाईहरू जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस्, हामी पदमुक्त हुन्छौं।’

बुधबारको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले बताए। पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरू घटिरहेको बताए।

‘सीमा बाहिर, मर्यादा बाहिरका तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिउन। पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस्। त्यसका लागि अगाडी बढौँ भन्ने मेरो चाहाना हो त्यहीअनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु।’