नेकपामा पुनः सक्रिय बन्दै विवाद कार्यदल

cpn-nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा देखिएको विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन्। तत्कालीन कार्यदल प्रमुख महासचिव विष्णु पौडेल नेतृत्वमा बनेको विवाद कार्यदलका सदस्यहरुले सक्रिय हुन लागेका हुन्। कार्यदलका सदस्यहरुले पार्टीका अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर छलफल गर्न समय मागेका छन्।

दुई अध्यक्षलाई भेटेर विवाद साम्य पार्न सुझाव र दबाब दिने तयारीमा उनी जुटेका छन्। परिणाम जे आए पनि भेटेर सुझाव दिनु राम्रो हो भन्ने लागेर भेटका लागि छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्। ‘हामीले पार्टी विवादका विषयमा छलफल गर्न दुई अध्यक्षसँग समय मागेका छौं। अहिलेसम्म पाएका छैनौं,’ सुरेन्द्र पाण्डेले भने, ‘यदि दुई अध्यक्षसँग समय पाएमा छलफल गर्ने सोचेका छौ। सम्भव भएसम्म सचिवालय सदस्यसँग पनि छलफल गर्ने छौ।’

यसअघि पार्टी विवाद उत्कर्षमा पुगेपछि समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल थिए। कार्यदलले दिएको सुझावकै आधारमा गत भदौ २६ गतेको सचिवालय बैठकबाट विवाद साम्य भएको बताइएको थियो। तर, फेरि पार्टीमा पुरानै विवाद उब्जिएपछि समस्या बल्झिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्