नेकपाले डाक्यो सचिवालय बैठक

NCP_Nekapa_perisdada
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ। निकै पेचिलो बनेको सचिवालय बैठक बोलाउने विषय अन्ततः पार्टीका दुवै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ-आफ्नो अडानबाट पछि हटेपछि सहमति बनेको हो।

दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजेका लागि सचिवालय बैठक डाकेका हुन्। यसअघि अध्यक्ष ओलीले पहिला एजेण्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएका थिए। उनले पार्टी विधान अनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेण्डामा सहमति हुनु पर्ने अडान राख्दै आएका थिए।

हाल उनी यस अडानबाट पछि हेटेको देखिएको छ। यता अध्यक्ष प्रचण्डले दुई सातादेखि पार्टीका अन्य वरिष्ठ नेताहरुको साथमा सचिवालय बैठक डाक्न माग गर्दै आएका थिए। उनले पहिला बैठक बोलाउने र सबै एजेण्डा बैठकमा नै राखौं भन्दै अडानमा थिए। उनले बिहीबार अपरान्ह ४ बजेका लागि सचिवालयको अनौपचारिक बैठक डाकेका थिए।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँचजनाले मंसिर २२ मा सचिवालय बैठक डाक्न अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए। त्यसपछि दास्रो पटक अध्यक्ष प्रचण्डको आह्वानमा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बसेको थियो। जसमा पाँच जना सदस्य सहभागि थिए।

त्यसपछि प्रचण्डले आज बिहीबार अपरान्ह ४ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। सचिवालय बैठक बोलाइएपछि बैठकमा के कस्ता गतिविधि हुने हो भन्ने अहिले चासो देखिएको छ।