नेकपा दुर्घटनाको डिलमा

Prachanda-Oli.jpg01
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ठीक तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो। त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड।

त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि गरे। एकताका क्रममा उनीहरूले आफूहरूलाई जेट विमानका दुई क्याप्टेनको संज्ञा दिएका थिए। तर उनीहरूले हाँकेको नेकपाको जेट उनीहरूकै व्यक्तिगत महत्त्वाकांक्षा र कार्यशैलीका कारण ‘पिक अप’ नलिँदै ‘क््रयास’ हुन लागेको छ।

दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पु¥याएको छ। यसअघि पोहोर मंसिर, गत वैशाख र असारमा पनि अन्तरसंघर्ष चुलिँदा एकीकृत पार्टीको भविष्यमाथि आशंका नउब्जिएको होइन, तर विगतमा भन्दा पछिल्लो घटनाक्रम भिन्न र दुर्घटनाउन्मुख छ ।

यसअघि मौखिक रूपमा एकअर्काप्रति आरोप–प्रत्यारोप हुने गरेकामा यस पटक लिखित दस्ताबेजकै रूपमा आएको छ । कम्युनिस्ट पार्टीको इतिहासमा जब एकअर्काप्रतिको आक्षेप व्यक्तिगत र तल्लो तहमा झर्न थाल्छ, पार्टी फुटेका उदाहरण छन् । त्यसैले यस पटक ओली र दाहालबीचको अन्तरसंघर्ष कम्युनिस्ट फुटको इतिहास सम्झाउने गरी प्रकट भएका छन् ।
विगतका धेरै चरणका अन्तरसंघर्षलाई व्यवस्थापन गरेको गत भदौ २६ को स्थायी कमिटी बैठकले नेकपालाई गति दिने अपेक्षा थियो । तर त्यही स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने विषयमा अर्को अन्तरसंघर्ष चुलिँदा ओली र दाहाल लिखत रूपमा व्यक्तिगत आक्षेप लगाउने तहमा पुगेका हुन् । सचिवालयका बहुमत सदस्यको बलमा अध्यक्ष दाहालसहितका असन्तुष्ट नेताहरूले बैठक बोलाउन माग गर्दै ओलीमाथि गत साता लिखित पत्र बुझाए।

त्यही पत्रको जवाफमा ओलीले बिहीबार दाहालले जिम्मेवारीअनुसार काम नगरेको उल्लेख गर्दै नयाँ पुस्तालाई अब नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए। ओलीको पत्रको जवाफमा दाहालले ‘इनफ इज इनफ’ भन्ने शब्द मात्र उल्लेख गरेका छैनन्, यस्तो स्थिति क्षम्य हुन नसक्ने भन्दै चेतावनी दिएका छन्। ओलीमाथि दाहालले राजनीतिक कार्यक्रम, घोषणापत्र र पार्टीको मार्गनिर्देशन अबज्ञा गरेको आरोप लगाएका छन् । जुन आरोप लगाउने हैसियत दाहालमा नरहेको ओली निकटहरूको बुझाइ छ।

दाहालले सचिवालय बैठकमा ओलीमाथि आरोपित गर्दै १९ पेजको प्रतिवेदन पेस गरेपछि बालुवाटारमा त्यसको प्रारम्भिक समीक्षा भएको छ । स्रोतका अनुसार ओलीले दाहालको कदमविरुद्ध आफूले अर्को कठोर कदम चाल्ने बताएका छन् । तर कदम के हुन्छ खुलाइएको छैन ।

शुक्रबार सचिवालयमा पेस भएको दस्ताबेज दाहालको नामबाट आए पनि यसभित्र नेकपाका असन्तुष्ट नेताहरूका धारणासमेत समेटिएका छन्। असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले पनि अहिले दाहालले जे–जे विषयमा ओलीमाथि आक्षेप लगाएका छन् ती विषयबारे सार्वजनिक रूपमा बोल्ने गरेका थिए । यो दस्ताबेज आउनुअघि पनि दाहालले व्यक्तिगत रूपमा उनीहरूसँग छलफल गरिरहेकै थिए।

त्यसैले ओलीविरुद्ध दाहालबाट व्यक्त आरोपमा उनीहरूको पनि धारणा कतै न कतै समेटिएको छ। उनीहरूसमेतको ढाडसमा दाहालले दस्ताबेज पेस गर्ने आँट गरेका हुन्। दाहाल र नेपालनिकट एक नेताका अनुसार ओलीको स्वेच्छाचारी कार्यशैलीले हद नाघेपछि पार्टीभित्र छलफलको विषय बनाउने गरी दाहालले दस्ताबेज ल्याएका हुन्।

तर फुटका लागि भन्दा पनि पार्टीभित्र वैचारिक बहस होस् भन्ने ढंगले यो दस्ताबेज पेस गरिएकाले यसबाट आत्तिन नहुने ती नेताको तर्क छ। तर ओलीनिकट नेताहरू आरोपै आरोपले भरिएको दस्ताबेज पार्टीभित्र कुनै छलफलको एजेन्डा बन्न नसक्ने बताउँछन्। बरु बालुवाटारमा दाहालले पेस गरेको यो दस्ताबेज औपचारिक रूपमा पार्टी विभाजनका लागि आएको विश्लेषण गरिएको छ।

दाहालले सरकारका कुनै पनि कामलाई जस दिएका छैनन्। भारतले अतिक्रमण गरेको नेपालको भूमि जोडेर नक्सा जारी गरेको विषयमा समेत दाहालले ओलीलाई नै दोषी देखाउन खोजेका छन्। यो हदसम्म आरोपित गर्ने कुराले अब एउटै पार्टीका रूपमा अघि बढ्ने ढोका साँघुरिँदै गएको ओलीपक्षीय नेताहरूको बुझाइ छ। दाहालको दस्ताबेज सचिवालयका सदस्यहरूलाई अध्ययनका लागि भन्दै वितरण गरिएकाले नेताहरूले औपचारिक रूपमा बोलेका छैनन्।

ओली र दाहालबीचको यो झगडा र यसभित्र अभिव्यक्त शब्दको भाव हेर्दा एकअर्काबीच विधि–पद्धतिभन्दा पनि पद प्रतिष्ठा र कार्यशैलीका समस्या ज्यादा छन् । दुवैले एकताको ‘स्पिरिट’ लाई नबोकेको र एकअर्कामध्ये को शक्तिशाली भन्ने अहम्ले नै विवाद यो तहमा आइपुगेको दस्ताबेजमा झल्किन्छ । विगतमा कम्युनिस्ट पार्टीमा यस्ता विवाद निरूपण गर्नका लागि एकअर्काले आत्मसमीक्षा र आत्मआलोचना गरेका उदाहरण पनि छन् । तर ओली र दाहाल दुवैको शैली आत्मआलोचनाभन्दा आफ्नो निर्णयमा अरूलाई हिँडाउन जोरजबर्जर्स्ती गर्ने खालको छ । त्यसैले अबका बैठकमा दाहालले ओलीमाथि आरोप लगाउँदै पेस गरेको दस्ताबेजमा छलफल गराउने कोसिस गर्न सक्छन्।

आफैंविरुद्धको दस्ताबेज पार्टीको बैठकमा औपचारिक छलफल गराउन ओलीले कुनै हालतमा चाहँदैनन् । त्यसैले योबीचमा मध्यमार्गी भूमिका खेल्ने नेताहरूले गर्ने पहल कस्तो हुन्छ, त्यसैमा पार्टी कसरी अघि बढ्छ भन्ने निर्भर हुनेछ। त्यस्तै ओलीविरुद्धको गठबन्धनमा सामेल भए पनि पार्टी फुटको अवस्थाबाट जोगाउन वरिष्ठ नेता नेपालको निर्णायक भूमिका के हुन्छ, त्यसमा पनि नेकपाको ठूलो पंक्तिले उनीमाथि नजर लगाइरहेको छ । किनकि फुटको अवस्था आयो भने नेपालले ओली कि दाहालको पक्ष लिन्छन्, त्यसले निकै ठूलो अर्थ राख्छ । ओली र दाहालबीचको दूरी घटाउने र पछिल्लो आरोप–प्रत्यारोपको पत्राचारलाई सहजीकरण र समन्वय गर्ने कोही निस्केन भने डिलमा पुगेको नेकपाको एकता दुर्घटनामा परे आश्चर्य हुनेछैन । कान्तिपुर दैनिकमा दुर्गा खनालले खबर लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्