काठमाडौं, १७ कार्तिक। उपप्रधानमन्त्री एंव नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको संघारमा पुगेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्वसमूह बनाएर खेल खेल्न खोज्दा पार्टीभित्र विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका हुन्।
उनले पार्टी एकता गर्दाका सहमती विपरित पूर्वसमूह व्यूताउँनु नै दुर्भाग्य भएको बताए। उनले यस्तो दुर्भाग्य निम्त्याउनेलाई चिनेर खबरदारी गर्न र एकतालाई जोगाउन पार्टी नेता तथा कार्यकर्तासँग आग्रह पनि गरेका छन्।
पोखरेलले भनेका छन्,‘एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो, त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’
नेकपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेका बेला नेताहरूका विभिन्न धारणा सार्वजनिक भइरहेका छन्।
आइतबार मात्रै महासचिव विष्णु पौडेलले पनि पार्टी एकतामा गम्भीर संकट आएको भन्दै एकताको रक्षा गर्न सबै नेतारकार्यकर्तालाई अपील गरेका थिए।
आइतबार नै आफ्नो निवास खुमलटारमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालयका अर्का सदस्य रामबहादुर थापासँग छलफल गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको गरेको ‘ब्रिफिङ’ गरेका थिए।