नेकपा विवादबारे योगेश भट्टराई भन्छन् : ‘सर्वाधिक कठिन समय’

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बै‌ठक दिउँसो एक बजे बस्ने भएको छ। सचिवालय बैठक पूर्वनिर्धारित समय अनुसार बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले ट्वीटरमार्फत भनेका छन्,‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ।’ सचिवालय बैठकसँग जुध्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए थिए।

सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ। यता, दिउँसो १ बजेका लागि दुवै बैठक तय गरिएपछि पर्यटन मन्त्री योगेश भट्टराईले यसलाई सर्वाधिक कठिन समय भनेर टिप्पणी गरेका थिए।

उनले ट्वीट गर्दै पार्टीभित्रको विवादलाई लक्षित गरी यसलाई कठिन समयको संज्ञा दिएका हुन्। उनले लेखेका छन्, ‘सर्वाधिक कठिन समय’। यस्तै स्थायी कमिटी सदस्य भीम रावलले पनि पार्टीप्रतिको गद्दारीमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पछिल्लो समय नेकपा भित्र बढ्दै गएको गुटबन्दी, दुई अध्यक्ष बीचको मतभेद र असमझदारीलाई लिएर आज ट्वीट गर्दै रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कसैलाई पनि नलाग्न आग्रह गरेका हुन्।

उनले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएकोसमेत उल्लेख गरेका छन्। नेकपा विवाद सतहमा छतछुल्ल भए पनि शीर्ष नेताहरु भने समाधान खोज्न तल्लिन छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्