नेकपा सचिवालय बैठक आज, कसको रणनीति के ?

NCP_Nekapa_perisdada
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समन्वय गरेर महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाएका हुन्।

पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। पत्रमा तोक लगाउँदै ओलीले महासचिव पौडेललाई विधानअनुसार गर्न भनेका थिए। सोही मागबमोजिम सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले बैठक बोलाउन नमानेपछि कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले सचिवालयको बैठक आह्वान गरेका थिए। तर, उक्त बैठकमा प्रधानमन्त्री ओलीसहित उनको पक्षका नेताहरु अनुपस्थित भएका थिए। सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पटक बसेको थियो।

बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो। नेकपाभित्र पछिल्लो समय उठेको विवादलगायत विषय बैठकको मुख्य अजेन्डा हुने जनाइएको छ। तर बैठकमा प्रस्तुत हुने एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएकाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै आन्तरिक रणनीति बनाएका छन्।

बैठकको एजेण्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा निकट नेताहरूसँग बिहीबार बेग्लाबेग्लै परामर्श गरेका छन्। प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उनको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गरेका छन्।

‘हामीले विधि र निर्णयका आधारमा पार्टी र सरकार सञ्चालन नगर्दा पार्टी संकटग्रस्त भएको कुरा राखिसकेका छौँ। पार्टी र सरकारलाई विचार, नीति र सिद्धान्तका आधारमा चलाउनुपर्छ भन्दै आयौँ, तर कार्यान्वयन भएन,’ प्रचण्ड-नेपाल समूहका एक नेताले भने, ‘त्यसैले बैठकमा बहसले त राम्रै प्रवेश पाउनेछ। पहिलो बैठकमै राजीनामासम्मको विषय नउठ्ला, तर हामी त्यसमा थप सल्लाह र परामर्श गरेर अघि बढ्नेछौँ।’

उता, प्रधानमन्त्री ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले प्रचण्ड र नेपाल समूहका नेताहरूले उठाउने विषयको प्रतिरक्षा र उपाध्यक्ष गौतमको सम्भावित भूमिकाबारे समेत परामर्श गरेका छन्। गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेकाले सचिवालयमा उनको भूमिका विवाद समाधानमा कम्तीमा तटस्थ रहने र अन्ततः सरकारलाई नै सहयोग गर्ने प्रधानमन्त्री ओलीको आकलन छ।

प्रवक्ता श्रेष्ठले आफूसहित पाँच शीर्ष नेताले राख्दै आएको विषयवस्तुलाई नै आधार मानेर बैठकमा मूलतः दुई विषयलाई एजेण्डा बनाएर सचिवालयमा छलफल हुन सक्ने बताए। ‘एजेन्डा के हुने विषयमा बैठकमै छलफल हुन्छ। एजेन्डा नभई बैठकमा छलफल हुने कुरा भएन,’ श्रेष्ठले भने, ‘हामीले एजेण्डा राखिसकेका छौँ। मुख्यतः दुई एजेन्डा प्रस्टै छन्, एउटा कोभिड-१९ ले पैदा गरेको स्वास्थ्य र आर्थिक संकट, अर्को पार्टी संकट र यसको निवारण। सम्भवतः यिनै विषयवस्तुमा बैठकमा छलफल हुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्