नेकपा सचिवालय बैठक सकियो, यस्तो छ निष्कर्ष

Nekapa_Sachibalaya
  • 266
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक सकिएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।

बैठकमा ओलीले आफूले पनि प्रस्ताव लिएर आउन चाहेको र त्यसका लागि समय चाहिने भन्दै १० दिनका लागि बैठक स्थगित गर्न माग गरेका थिए। ‌ओलीको प्रस्तावमा सचिवालयका बहुमत सदस्यले सहमति जनाएको बुझिएको छ।

यस्तै आजको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउनले निर्णय पनि गरेको छ। सचिवालय बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए। यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सारिएको छ।

गत शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव सचिवालयमा पेश गरेका थिए। प्रवक्ता श्रेष्ठका अनुसार मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ।

बैठकअघि प्रधानमन्त्री ओलीले शीतल निवासमा राष्ट्रपति भण्डारीसँगको छलफल गरेका थिए। दिउँसो तय भएको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक अगाडि ओली शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो। सचिवालय बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।