‘नेपालीले समयमै कोरोना खोप पाउँने छन्’

लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका छन्। मन्त्री ढकालले भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए।

ढकालले ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा नेपाललाई भेन्टिलेटर सहयोग गरेकोमा नेपाल खुसी रहेको पनि बताए। ढकालका अनुसार नेपालमा करिब एक हजार भेन्टिलेटर रहेकोमा अमेरिकाले एकैपटक त्यसको करिब १० प्रतिशत थपिदिएको हो।

ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात-सातवटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई-दुईवटाको दरले वितरण गरिएको पनि जानकारी दिए। मन्त्री ढकालले कोरोनाविरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुनेसमेत उल्लेख गरे।

कोभिड-१९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउनेसमेत अपेक्षा गरे। अमेरिकी राजदूत बेरीले असल र खराब दुवै समयमा अमेरिका नेपालसँग साझेदारीप्रति प्रतिबद्ध रहेको बताए। ‘यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड-१९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्,’ बेरीले भने।

उनले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका विधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्