नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीनलाई कांग्रेस नेताको चुनौती

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन्। चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले हुम्लामा चीनले सीमा मिचेको भनेर ‘गलत हल्ला’ फैलाउन उनीसहितको शक्ति सक्रिय रहेको आरोप लगाएपछि नेता शाहीले विज्ञप्ति जारी गरी खण्डन गरेका हुन्।

मुखपत्रमार्फत स्वाभिमानी नेपाली आवाजहरूलाई बन्द गर्ने नियतले धम्किपूर्ण भाषामा नित्कृष्ट लाञ्छना लगाएको उनको टिप्पाणी छ। ‘नेपाली भूमि मिचिएको वास्तविक तथ्यहरूलाई नजरअन्दाज गर्दै चीन सरकारबाट नयाँ निर्माण गरिएको संरचना क्षेत्र लालोङ्गजोमलाई मात्र केन्द्र राखी चीन सरकारबाट आफ्नो मुखपत्रमार्फत स्वाभिमानी नेपाली आवाजहरूलाई बन्द गर्ने नियतले धम्किपूर्ण भाषामा नित्कृष्ट लाञ्छना र मिथ्या आरोप लगाइएको प्रति निन्द ब्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

कर्णाली प्रदेश, विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्तिमार्फत चीन सरकारलाई नेपालको भूमि मिचेकै छैन भनेर प्रमाण दिन चुनौती पनि दिए। उनले विज्ञप्तिमा भनेका छन्, ‘चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्नसमेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमी रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाई निरन्तर दबाब सिर्जना गर्न र यस्ता मिथ्या एंव काल्पनिक समचारबाट भ्रममा नपर्न आम नेपाली समुदायलाई अपिल गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्