नेपाल आउने तयारीमा भारतीय विदेश सचिव, यस्तो छ कारण

Harsa_bardan
लोकपाटी न्यूज

काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी यही मंसिर दोस्रो सातासम्म नेपाल आउने भएका हुन्। भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो।

तर, नयाँदिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नआएको बताएको छ। ‘हामीलाई अझैसम्म औपचारिक जानकारी आएको छैन,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने। भारतीय विदेश सचिव श्रृंगलाको आसन्न नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ। अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए।

त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका थिए। द हिन्दुस्तान टाइम्सले पनि श्रृंगलाको भ्रमणलाई एक वर्षयता अन्त्य खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेको छ। गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुकको भ्रमण गर्न लागेका हुन्।

उनी विभिन्न विषयमा छलफल गर्न काठमाडौं आउन लागेका छन्। उनको भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी संयुक्त समितिको बैठकको मिति पनि तय हुने बताइएको छ। अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ। गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ-लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं-दिल्लीबीचको दूरी थप बढ्न गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्