नेपाल सम्वत् नेवारको मात्रै नभई सबैको साझा होः मन्त्री श्रेष्ठ

KrishnaGopal_Shresth
लोकपाटी न्यूज

भक्तपुर। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ को अवसरमा मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा मार्ल्यापण गरेका छन्। सो अवसरमा उनले नेपाल सम्वत् एकलजातिको मात्र नभई सबै नेपालीको मौलिक सम्वत् भएको बताए।

मन्त्री श्रेष्ठले भने, ‘अहिले यो सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत् घोषणा गरे पनि सबै नेपालीले यसलाई अपनत्व गर्न नसकेकाले यसलाई नेवार समुदायको मात्र भनेर गलत बुझाइ रहेको छ, अब यसलाई सबैको सम्वत् बनाउनु आवश्यक छ।’

विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसंङग कोट्याउँदै उाले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताए।

नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने गरेको मन्त्री श्रेष्ठले बताए। उनले समाजसेवी साख्वाःले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको बताउँदै जनताको ऋण मोचन गरेर मौलिक सम्वते चलाउने ब्यक्तित्व कुनै जातविशेषको मात्र नहुने उल्लेख गरे।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शङ्खधरको शालिक बनाइ रहेको उल्लेख गर्दै नेपाल सम्वत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए। पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले राष्ट्रिय विभूति साख्वाःले पुर्‍याएको योगदानको चर्चा गर्दै साख्वाःले जस्तै नेताले पनि देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

पूर्वमन्त्री तथा सांसद भीमसेनदास प्रधानले नेपाल सम्वत्लाई नेवार समुदायले आफ्नो पेवा जस्तो बनाउन नहुने भन्दै शङ्खधर कुनै जात विशेषको मात्र नभएको हुँदा सबैको साझा भएको बताए।