पत्नी वियोगमा रहेका महरालाई राष्ट्रपतिसहित शीर्ष नेतृत्वद्वारा समवेदना

krishna bahadur mahara
लाेकपाटी न्यूज

घोराही, २० कार्तिक। पत्नी वियोगमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित शीर्ष नेतृत्वले समवेदना प्रकट गरेका छन्। विभिन्न शीर्ष नेताहरुले महरालाई टेलिफोन गरी समवेदना व्यक्त गरेका हुन्।

महरा पत्नी सीताको कार्तिक १९ गते ५९ वर्षको उमेरमा निधन भएको थियो। सीता १० वर्षे जनयुद्धमा महरासँगै भूमिगत भएकी थिइन्। महरालाई राष्ट्रपति विद्या भण्डारीसहित उप–राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समवेदना गरेका थिए। प्रचण्ड समवेदना प्रकट गर्न काठमाण्डौं स्थिति महरा निवासमा समेत पुगेका थिए।

पूर्वसभामुख कृष्णबहादुर महरा परिवार अहिले छोरा निर्मल महरा ‘एटम’ को दाङ घोराही स्थिति घरमा आएका छन्। महरालाई पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. वावुराम भट्टराईले समवेदान प्रकट गरेका छन्।

त्यसैगरी विद्रोही शक्ति नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले महरालाई समवेदना व्यक्त गरेका छन्। महरा विप्लवका विद्यार्थी जीवनका शैक्षिक एवम् राजनीतिक गुरु समेत हुन्।

त्यसैगरी नेता मोहन वैद्य किरणले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गरेका थिए। उनलाई पूर्व राजा ज्ञानेन्द्र शाहले निजी सचिवमार्फत् समवेदना सन्देश पठाएका छन्। त्यसैगरी महरा पत्नी सीताको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखले समेत दुःख व्यक्त गरेका छन्। त्यसैगरी सभामुख अग्नि सापकोटाले विज्ञप्ती निकालेर महरा पत्नी सीताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। त्यसैगरी नेकपाका सबै सचिवालय सदस्यहरुले टेलिफोन गरेर महरा परिवारलाई समवेदना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका शेखर कोइराला, कृष्ण सिटौला लगायत शीर्ष नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गरेका छन्। नेकपाका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् मुख्यमन्त्री शंकरा पोख्रेल, आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनाम, प्रदेश सभामुख पूर्ण घर्ति लगायतका नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गरेका छन्।

बिहीबार बिहान ३ बजे महरा परिवार काठमाडौंबाट दाङ आइपुगको छ। बिहिबार बिहानैदेखि महरा परिवारलाई समवेदना प्रकट गर्न दाङस्थित उच्च पदस्थ सरकारी अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि एवम् जनताहरुको घुइँचो लागेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्