नेकपामा दुर्घटना हुन सक्छः महासचिव पौडेल

Bishnu paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत महासचिव पौडेलले पार्टी एकताको रक्षाका लागि पार्टी नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन्।

नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकता संकटकको मोडमा पुगेको उनले बताएका छन्। ‘यति बेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको छ। नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन,’ उनले भनेका छन्, ‘तसर्थ आपसी अन्तर्विरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।’

महासचिव पौडेलले पार्टी एकताको रक्षाका लागि सबै नेता कार्यकर्ताको योगदान आवश्यकता औँल्याएका छन्। उनले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताए। उनले भनेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो। तर आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ।’

जुन उद्देश्यसहित पार्टी एकता भएको थियो, सो बमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको उनले जनाएका छन्। नेकपामा अहिले दुई अध्यक्षबीच संवादहीनताको अवस्था चलिरहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी हुन सकेको छैन भने उनीहरुबीच बोलचाल गराउन दोस्रो तहका नेताहरूको सक्रियता बढेको देखिएको छ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट र पर्सा घटना लगायतका विषयमा पार्टी भित्र असन्तुष्टि बढेको छ।

महासचिव पौडेलले फेसबुकमा लेखेका छन्

राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो।

पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो। तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यति बेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको छ।

नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन। तसर्थ आपसी अन्तर्विरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्