पूर्व भूमिसुधार मन्त्री गौतमको निधन

thumb
लाेकपाटी न्यूज

तनहुँ, २७ कार्तिक। पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको बिहीबार बिहान निधन भएको छ।

केही समयदेखि अस्वस्थ रहेका गौतमको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो। उनी ७१ वर्षका थिए।

केही समयदेखि बिरामी परेका गौतमलाई निमोनिया भएको थियो। चितवनस्थित अस्पतलामा उपचारपछि थामा घर फर्किएका थिए। गौतमको निधनले एक राष्ट्रवादी तथा विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर १ का वडाध्यक्ष भानुभक्त पोख्ररेलले बताए।

गौतम तत्कालीन माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमि सुधार तथा व्यवस्थापनमन्त्री बनेका थिए।

पछि उनी नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा आबद्ध थिए। तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका गौतम भट्टराईको नयाँ शक्ति पार्टीमा आएका थिए। पछिल्लो समय उनले बन्दिपुरमै कृषि फार्म सञ्चालन गर्दै आएका थिए। गौतमका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।

गौतमको निधनमा दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले टिवटरमा लेखेका छन्, ‘जसपाका सल्लाहकार समिति अध्यक्ष,भूपू मन्त्री तथा समाजवादी आन्दोलनका अथक योद्धा भीमप्रसाद गौतमको असामयिक निधनले हाम्रो पार्टी र समाजवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ। पार्टी र निजीतर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहीरो समवेदना।’